काठमाडाैं । नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभाबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन अध्यक्षमा निर्वाचित भएका छन् ।
उनीसहित कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट इन्टरनेसनल प्रालि), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रालि) इन्द्रप्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रालि) तथा सचिवमा दिपेन्द्र खनाल इजीलिंक रेमिट्यान्स प्रालि चयन भएका छन् । यस्तै सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रालि), दिवाकर पौडेल ( जीएमई रेमिट प्रालि), सञ्जीव पाठक (एटीटी रेमिट प्रालि) रहेका छन् ।
संघको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै निर्वतमान अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिएका थिए ।
यस्तै संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका महासचिव रितेस मित्तलले कोभिड–१९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक वर्षम वृद्धि भएकामा यो आर्थिक वर्षको सुरुवातदेखि नै रेमिट्यान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरे।
संघको विधानतः अध्यक्षबाट मनोनित हुने २ जना सदस्यमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा (प्रभु मनिट्रान्सफर प्रालि) रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष चन्द्र टन्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रुपमा विकास लैजाने बताए । यस्तै सम्पूर्ण रेमिट्यान्स कम्पनीको संस्थागत हितका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नव निर्वाचित अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दै उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र फराकिलो व्यव्सायको क्षेत्र बनेको उल्लेख गरे ।