विराटनगर । शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बिमाबाट कृषक लाभान्वित भइरहेका छन् ।
८० प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बिमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपन्छीमा कुनै पनि किसिमको हानिनोक्सानी भएमा सरकारले क्षतिपूर्ति गर्ने व्यवस्थाबाट कृषकले मनोबल उच्च भइरहेको पाइएको छ ।
आफ्ना मेहनत, परिश्रम र लगानी खर्च भएको यस व्यवसायलाई अझ व्यवस्थित गर्न बीमा कम्पनीले आफ्ना योजनालाई सहज र सरल बनाउनुपर्ने कृषकको माग रहेको छ ।
विसं २०६९ माघ १ गते सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमा प्रारम्भमा ६२ करोडको बीमा भएको थियो भने आर्थिक वर्ष २०७७०७८ मा कूल ४२ अर्ब रुपैयाँ पुगेको र आउने वर्षमा करिब ५५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
देशभरमा २० बिमा कम्पनीले कृषकको लाभमा काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङका प्रमुख विनोद मण्डलले जानकारी दिए ।
निर्जीवन (कृषि तथा पशुपन्छी) बीमा कम्पनीसँग परियोजना एकाइ मोरङद्वारा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा कृषकले आफ्ना बाली र पशुपन्छीको बिमा गरेर आर्थिक भार बेहोर्नेबाट बच्नुपर्ने सहभागीले जोड दिएका छन् ।
सो अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोखरेलले सरकारले लागू गरेको बीमा योजनाबाट आम कृषकले लाभ लिन ऐन, निर्देशिका र कार्यविधिको पनि अध्ययन गर्नुपर्ने सुझाव दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय एकाइ मोरङका प्रमुख विनोद मण्डलले बिमा टाठाबाठालाई मात्र नभएर सर्वसाधारण कृषकको लागि पनि भएकाले यसतर्फ बीमा कम्पनीको ध्यान जानुपर्ने बताए ।