काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत निकासीभन्दा पनि आन्तरिक खपत बढाउने नीति आवश्यक भएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत भारतमा बिक्री गरेर व्यापार घाटा कम नहुने दाबी गरे ।
उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने स्पष्टपारे । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउनुहुँदै विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने उनको जिकिर छ । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्ने उनको भनाइ छ ।
‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उनले भने, ‘एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’
नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेकोसमेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षमा समेटिनेसमेत उनले प्रतिबद्धता जनाए ।
उनले कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनुपर्ने बताए । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियतमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।
यस्तै निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने प्रतिबद्धता जनाए ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा मलेशियाको महाथिर मोडल अनुशरण गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले महाथिर मोडलले मलेसियालाई धनी बनाएको उल्लेख गर्दै उनले नेपालका सरकार तथा नेतृत्वले पनि यसलाई ध्यान दिनुपर्नेमा जोड दिए ।