काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र झन् झन खराब अवस्थातिर अघि बढेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँ घाटा गएसँगै अर्थतन्त्रको बाह्य क्षेत्र गम्भीर अवस्थामा पुगेको देखाएको हो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर केही सुध्रिन खोजेको थियो । तर, चार महिनामा शोधनान्तर अवस्था ७८ अर्बबाट बढेर १ खर्ब ५० अर्ब नाघेको छ । यसले नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र गम्भीर बन्दै गएको देखिएको छ ।
आयात निरन्तर बढिरहने, रेमिट्यान्स कम आउने र सरकारले वैदेशिक ऋण तथा अनुदानसमेत लिन नसक्ने भएपछि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र पनि समस्यामा परेको अर्थविद् केशव आचार्य बताउँछन् ।
‘खास गरी शोधनान्तर स्थिति एवं चालू खाताको घाटा बढ्दै गइरहेको छ, विदेशी विनिमय सञ्चिति पनि निरन्तर घटिरहेको छ’ उनले भने, ‘जबकि विगतका दुई आर्थिक वर्षको यसै अवधिमा यी सूचकांकहरू सन्तोषजनक थिए । अहिले विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन बिग्रेका कारण नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) अन्तर्गत ४० करोड अमेरिकी डलर ४८ अर्ब रुपैयाँ ऋण लिने निर्णय गरिसकेको छ ।’
यिनै कारण, मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदरमै धक्का पुग्ने निश्चित छ, जुन एसियाली विकास बैंक (एडीबीले) ४.१ प्रतिशत र विश्व बैंकले ३.९ प्रतिशत मात्रै हुने अनुमान सार्वजनिक गरिसकेका छन् ।
उपलब्ध स्रोत–साधनको उचित प्रयोग गर्न, उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न, निर्यात बढाउन, विदेशी मुद्रा आर्जन गरी त्यसबाट फेरि पुँजी निर्माणको वातावरण सृजना गर्न मुलुक लामो समयदेखि चुकिरहेको छ । यसैले पनि संकटको बाटोमा रहेको हालको अर्थतन्त्रलाई सही ढंगले अघि बढाउन संयमतापूर्वक हस्तक्षेप गर्नु आवश्यक छ । विगत र वर्तमानको तुलनात्मक अवस्थाको मिहिन अध्ययन गरी सुधारका उपायहरू पहिल्याउनु पर्ने अर्थविद्हरु बताउँछन् ।
याे पनि पढ्नुहाेस्
आईएमएफको शरणमा नेपालको अर्थतन्त्र, बिग्रिँदो अवस्थाबारे बेखबर अर्थमन्त्री