काठमाडौं । अमेरिकी डलरसँग नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । बुधबारको तुलनामा बिहीबार नेपाली रुपैयाँ डलरसँग ५९ पैसाले कमजोर बनेको छ ।
भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएकाले भारु बलियो भए नेपाली रुपैयाँ मजबुत र कमजोर भए अवमूल्यन हुने गरेको छ ।
बुधबारको तुलनामा बिहीबार भारु पनि कमजोर बनेर १ डलर बराबर ७५.४७ पुगेको छ । बुधबार ७५.३५ भारु थियो । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन तयारी थालेपछि विश्व बजारमा डलर महँगो भएको छ । ब्याजदर बढाउने विषयमा फेडरलले चाँडै निर्णय गर्दै छ ।
अहिले फेडरल रिजर्भले अमेरिकामा ब्याजदर ०.२५ प्रतिशत तोकेको छ । कोरोना महामारीका कारण २ वर्षदेखि फेडले ब्याजदरमा परिवर्तन गरेको छैन ।
ब्याजदर बढ्ने भएपछि भारतमा आएको लगानी फेरि अमेरिकामा फिर्ता जान थालेपछि भारु पनि कमजोर बनेको छ । भारु कमजोर बनेपछि नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
२०७७ वैशाख ९ गते विश्व बजारमा कच्चा तेलको भाउ तल्लो विन्दुमा पुगेपछि अमेरिकी डलर झनै बलियो भएको थियो । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलरमा उछाल आएको हो ।
त्यसबेला विश्व बजारमा तेलको भाउ घटेर प्रतिब्यारल १४.३५ डलरमा झरेको थियो । त्यस बेला नेपाल राष्ट्र बैंकले १ डलर बराबर १२२ रुपैयाँ ७६ पैसा बिक्री दर तोकेको थियो । अहिलेको अवस्था हेर्दा भारु थप कमजोर हुने संभावना बढेको छ । यसले नेपाली रुपैयाँ झनै कमजोर हुनेछ ।
फेडरल रिजर्भले ब्याजदर बढाउने भएपछि डलर मजबुत हुन गएको हो । सन् २००८ को विश्व आर्थिक मन्दीपछि अमेरिकाको अर्थतन्त्र कमजोर भएको थियो ।
सन् २०१३ पछि फेडरल रिजर्भले ब्याजदर बढाएपछि लगानी अमेरिकातिर फिर्ता जान थालेको थियो । भारत र चीनलगायत उदयीमान अर्थतन्त्रमा आएको लगानी पुनः अमेरिकातिर फर्केको थियो ।
डलर बलियो हुँदै जानु नेपाली अर्थतन्त्रका लागि थप चुनौती आएको अर्थशास्त्रीहरुको भनाइ छ । डलर महँगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ ।
डलरमा पठाउने रेमिट्यान्स बढी हुनेछ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ । डलरमा निर्यात हुने भएकाले व्यवसायीलाई फाइदा हुनेछ । यस्तै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट कर घटाएपछि डलर मजबुत भएको थियो ।
यसैगरी आयात गरिने वस्तु महँगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । पेट्रोलियम पदार्थको भाउ पनि बढाउनेछ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । डलर महंगो भएपछि नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ । यसैगरी विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ ।
यसले गर्दा ती कम्पनीहरुलाई फाइदा हुनेछ । जलविद्युत कम्पनीहरुले विदेशबाट उपकरण आयात गर्दा डलरमा भुक्तानी गर्छन । यस्तै ठेकेदार कम्पनीहरुलाई पनि केही प्रतिशत डलरमा भुक्तानी गर्छन् ।
यसले गर्दा आयोजनाको लागत बढ्ने गरेको छ । भरर्खरै सम्पन्न ४५६ मेगावाटको माथिल्लो तामाकोसीको लागत बढाउने एउटा कारण डलर पनि हो । त्यसबेला ठेक्का लगाउँदा ८० रुपैयाँ थियो ।
यो पनि हेर्नुहोस
ब्याजदर बढ्ने हल्लाले डलर लाग्यो उकालो, अमेरिकामा लगानी फिर्ता जान थालेपछि भारु बन्यो कमजोर