काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफल कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न विषयगत मन्त्रालयलाई भनेका छन् । ‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने , ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’
खर्च गर्ने नसक्ने मन्त्रालयको बजेट अन्यत्र रकमान्तर गर्ने सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवलाई अर्थमन्त्री शर्माले चेतावनी दिएका छन् । बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने अर्थमन्त्री शर्माको भनाई थियो ।
‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन’, उनले भने , ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौं ।’
उनले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने बताए । पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको भन्दै मन्त्री शर्माले विकासे मन्त्रालयहरुलाई चाँडो खर्चको रफतार बढाउन भनेका छन् । समयमा नै खर्च गर्नका लागि गर्नुपर्ने सम्पूर्ण सहयोग अर्थ मन्त्रालय गर्न तयार रहेको अर्थमन्त्री शर्माले व्यक्त गरेका छन् ।
यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन पनि निर्देशन दिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायतको सहभागिता थियो ।