काठमाडौं । जापानमा ३० वर्ष बसेर नेपाल फर्किएका प्रवेश राजभण्डारीले पछिल्लो समय रिसोर्ट क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन् ।
२ वर्षअघिबाट पोखरामा ‘पोखरा हेभन रिसोर्ट’ सञ्चालनमा ल्याएका राजभण्डारीले अहिले पर्वतमा करिब २५ करोडको लगानीमा लालटिन रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
बागलुङ घर भएका राजभण्डारीले जापान बसाइँको क्रममा त्यहाँका रेष्टुराँमा लगानी गरेका थिए । नेपालमा पनि काठमाडौं र पोखरामा लामो समयदेखि रेष्टुराँ सञ्चालन गर्दै आएका उनले पछिल्लो समय रिसोर्टमा लगानी बढाउन थालेका हुन् ।
मुक्तिनाथ जाने आन्तरिक एवम् बाह्य पर्यटकलाई लक्षित गरी एडभेन्चर टाइपको रिसोर्ट निर्माण गरेका हुन् । हिमालदेखि बगी आएको मोदीखोला किनारमा प्रकृतिसँगै रमाउन मिल्ने गरी रिसोर्ट निर्माण गरिएको उनको भनाइ छ ।
ब्लू डायमन्ड (धेरै निलो) खोला रहेको सो स्थानमा बनेको रिसोर्टबाट पर्वतको बन्जीजम्पको दूरी १२ किलोमिटर हो । यस्तै लामा पुल हेर्न आउनेलाई सहज हुने गरी खोलाको एकान्त एवम् शान्त वातावरणमा रम्न चाहनेलाई लक्षित गरी १६ रोपनी क्षेत्रफलमा रिसोर्ट फैलिएकोे उनले बताए ।

रिसोर्टको सबै काम सम्पन्न नभए पनि बस्नका लागि तयारी भइसकेको र स्विमिङ पुल सहितका अन्य पूर्वधार निर्माणको क्रममा रहेको बताए ।
रिसोर्टमा पूर्वाधार अझै थप गर्नुपर्ने भएकाले त्यसको लगानी करिब २५ करोडको अनुमान गरिएको उनको भनाइ छ ।
रिसोर्टभित्र ९ वटा छुट्टाछुट्टै घरहरु निर्माण भइसकेका र थप २ वटा बनाउने काम अघि बढेको जनाएको छ । गण्डकी प्रदेशमा ११ वटा जिल्ला रहेका र तिनको नामबाट घरहरुको नामाकरण हुने उनले बताए ।

एउटा घरमा १ वटा कोठा र दुईवटा बेडरुम हुनेछन् । तिनमा ५ देखि ७ जनासम्म बस्न सकिनेछ ।
‘रिसोर्ट भन्नेबित्तिकै अधिकांशको मनमा महंगो हुन्छ भन्ने सोचाइ छ’ राजभण्डारी भन्छन्, ‘तर, लालटिन रिसोर्टमा सस्तोमा र गुणस्तरीय सेवा पाइन्छ ।’
कुस्माभन्दा ११ किलोमिटर वर रहेको सो रिसोर्ट हुँदै बागलुङ, बेनी, मुस्ताङ जाने पर्यटक धेरै हुन्छन् । त्यताबाट फर्किने र जानेहरुका लागि विश्रामको उत्कृष्ट गन्तव्यका रुपमा सो रिसोर्टलाई विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

लालटिन रिसोर्ट प्रालिद्वारा निर्माण गरी सञ्चालनमा ल्याइएको सो रिसोर्टमा प्रतिघर शुल्क ३ हजार ५ सय रुपैयाँदेखि ५ हजार ५ सय रुपैयाँसम्म हुनेछ । यस्तै प्योकजमा जान चाहनेका लागि पनि प्रतिव्यक्ति ३ हजार ५ सयसम्ममा एक रात राख्न सकिने राजभण्डारीले जानकारी दिए ।
यो पनि हेर्नुहोस
३६ करोड लागतमा पोखरा हेभन रिसोर्ट, स्वीमिङ र हेल्थ क्लबको सुविधा
जापानको कमाइ, नेपालमा लगानी