तानसेन । तानसेन नगरपालिकाले आव २०७७/०७८ मा ५ करोड ७६ लाख ४४ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । कोभिड- १९ को सङ्क्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा २ करोड ६८ लाख ८५ हजार रूपैयाँ सङ्कलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख मधुसूदन घर्तीले बताए ।
शाखा प्रमुख घर्तीका अनुसार पछिल्ला वर्ष नौ करोड पुर्याउने लक्ष्य रहे पनि कोरोनाले राजस्व सङ्कलनमा प्रभावित भएको हो । नगरपालिकामा जनप्रतिनिधि आएपछि झण्डै ठूलो मात्रामा राजस्वमा वृद्धि भएको हो । नगरपालिकाले १८ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । राजस्व सङ्कलन गर्न सचेतना अभियान नै सञ्चालन गरिएका थियो ।
नगरपालिकाले सम्पत्ति, भूमि, घरबहाल, बहाल विटौरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने, अन्य मनोरञ्जन, व्यवसाय कर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त रकम, अन्य बिक्रीबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ ।
त्यसैगरी अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ ।
नगरपालिकाले आन्तरिकरुपमा ४ करोड ४६ लाख ७७ हजार ६ सय १५ रूपैयाँ राजस्व प्राप्ति भएको शाखा प्रमुख घर्तीले बताए। राजस्व बाँडफाँटबाट १ करोड २८ लाख ६६ हजार ४ सय ५७ रूपैयाँ प्राप्त गरेको थियो । आव २०७६/७७ मा ५ करोड ७८ हजार रूपैयाँ राजस्व प्राप्ति भएको थियो ।