काठमाडाैं । राजस्व अनुसन्धान विभागले विभिन्न कसूरमा चार व्यक्तिविरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा पाटन जिल्ला अदालत र नेपालगन्जमा छुट्टाछुट्टै दायर गरेको छ ।
बारा जिल्ला, भुलहीका स्थायी र हाल प्रसौनी गाउँपालिका–४ बस्ने लार्ज ट्रेड लिंक प्रालिका सञ्चालक अर्जुनप्रसाद पटेल, बारा जिल्लाकै राजपुर स्थायी ठेगाना भई महालक्ष्मी नगरपालिका ललितपुर बस्ने जयकिशोर साह र सिराह जिल्ला रामपुर पिपराका सुर्यजितप्रसाद साहसहित सर्लाही भक्तिपुर स्थायी ठेगाना भई कागेश्वरी नगरपालिका काँडाघारी बस्ने तोयनाथ अधिकारीविरुद्ध वस्तु तथा सेवा खरिदै नगरी झुटो बिजक खरिद गरी मूल्य अभिवृद्धि कर तथा आयकरसमेत नतिरेको उल्लेख छ ।
विभागले मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर गरी १८ करोड ३५ लाख बाइस हजार दुई सय छयासी बराबरको मागदाबी गरेको छ ।
यस्तै उल्लिखित कसूरअन्तर्गत पर्सा जिल्ला स्थायी ठेगाना भई हाल वीरगन्ज उपमहानगरपालिका ७ बस्ने तुराहा सप्लायर्सका हरिनारायण साह तुराहविरुद्ध मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर गरी दुई करोड अठार लाख अन्ठानब्बे हजार एक सय चौब्बिस रुपैंया बराबरको मागदाबी गरेको छ ।
यसबाहेक अमेरिकी डलर अवैध रुपमा संचय तथा ओसार पसार गरेको कसूरमाराजस्व अनुसन्धान विभागले मुस्ताङ जिल्ला स्थायी ठेगाना भई शिवालय चोक कुस्मा पर्वत बस्दै आएका छिरिङ ढुन्डु गुरुङविरुद्ध विदेशी विनिमयसम्बन्धी मुद्दा कास्की जिल्ला अदालत, पोखरामा दायर गरेको छ । गुरुङबाट बरामद भएको अमेरिकी डलर एक लाख ९४ हजार २०० को नेपाली रकम २ करोड, ३२ लाख ७४ हजार १ सय ८० बराबरको जरिवाना र तीन वर्षको कैद साजय मागदाबी विभागले गरेको छ ।
यस्तै राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पनि अर्घाखाँची २ पाली स्थायी ठेगाना भई हाल बाँके नेपालगन्ज ४ बस्ने आले भन्ने सैपादिन मियाँ र बहराइच जिल्ला उत्तर प्रदेशका अमन मित्तलविरूद्ध चुहावटसम्बन्धी मुद्दा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास, नेपालगञ्ज बाँकेमा दायर गरेके छ ।
उनीहरूविरूद्ध भन्सार चोरी पैठारी गरेका कपडाजन्य मालवस्तुहरू अर्काको फर्मको नक्कली बिजक छपाएर त्यसको प्रयोग गरी मालबस्तुकासाथ बिक्री बितरण गरेको कसूर छ । त्यसका लागि १ करोड ८९ लाख ८९ हजार ४ सय ४७ रुपैयाँ जरिवानासहित मागदाबी गरेकाे छ ।