काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजस्व संकलन दोब्बर बनाउने बताए पनि अन्तःशुल्क, ब्याज लगायतका आन्तरिक कर असुली लक्ष्यभन्दा कम उठेको छ ।
मंसिर महिनामा १ अर्ब १५ करोड रुपैयाँ ब्याज असुल गर्ने लक्ष्य राखेकोमा ५६ करोड ३६ लाख रुपैयाँ अर्थात ४८.६३ मात्रै असुल भएको आन्तरिक राजस्व विभागले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ब्याज १५ अर्ब ४७ करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोमा १० अर्ब ५७ करोड अर्थात ६८.३६ प्रतिशत मात्रै असुल भएको छ ।
ब्याजबापतको पहिलो किस्ता असोज महिनामा र दोस्रो किस्ता पुसमा तिर्ने भएकाले मंसिरमा कम देखिएको विभागका सुचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए ।
‘मंसिर ब्याजको नियमित कारोबार गर्ने महिना नभएकाले यो समयमा कम उठ्ने गरेकोछ’, उनले भने ‘हामीले राजस्वको लक्ष्य निर्धारण बैज्ञानिक आधारमा निर्धारण गर्न चुक्ने गरेका छौं । त्यसैले हामीले पुससम्म हेर्नुपर्ने हुन्छ । पुससम्म पनि लक्ष्यनुसार असुली भएन भने विचारणीय हुन्छ ।’
बैंकहरुले सामान्यतया मंसिरमा ब्याज भुक्तानी गर्दैनन् । ब्याज भुक्तानी नहुँदा अग्रिम कर कट्टी ‘टीडीएस’ गर्न गर्न मिल्दैन । अग्रिमकर कट्टी नभएपछि ब्याजबापत सरकारलाई प्राप्त हुने कर पनि प्राप्त नहुने प्याकुरेल बताउँछन ।
यसैगरी आन्तरिक अन्तःशुल्क पनि लक्ष्यभन्दा कम असुल उपर भएको छ । मंसिरमा १० अर्ब ७८ करोड आन्तरिक अन्तःशुल्क उठाउने लक्ष्य राखे पनि ८ अर्ब ११ करोड रुपैयाँ अर्थात ७५.१९ प्रतिशत मात्रै संकलन गरेको छ ।
तर, पहिलो ५ महिनाका लागि ३६ अर्ब २५ करोड रुपैयाँको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यभन्दा ९.६५ प्रतिशत बढी अर्थात ३९ अर्ब ७४ करोड रुपैया आन्तरिक अन्तशुल्क संकलन भएको छ ।
न्युन उत्पादन, प्रशोधन र निकासीका कारण बजारमा बस्तु कम पठाएका कारण राजस्वमा कमी आएको हुन सक्ने विभागको भनाई छ । यसैगरी जाडो महिनामा वियरको खपत कम हुने भएकाले पनि अन्तःशुल्क घटेको हो । वियरको खपतमा आएको कटौतीले यसबाट संकलन हुने राजस्वमा कमी आएको विभागको भनाई छ ।
मंसिर महिनासम्ममा मूल्य अभिबृद्धि कर ८९.६२ प्रतिशत मात्रै संकलन भएको छ । ४९ अर्ब ६९ करोड रुपैयाँ भ्याट संकलन गर्ने लक्ष्य राखेकोमा ४४ अर्ब ५३ करोड अर्थात ८९.६२ प्रतिशत मात्रै असुल भएको विभागले जनाएको छ । यसैगरी मंसिर महिना ९७.२५ प्रतिशत अर्थात ८ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको छ ।
सरकारले मंसिर महिनाका लागि ८ अर्ब ८० करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) असुल गर्ने लक्ष्य राखेको थियो । कोभिड १९ का कारण सरकारले अघिल्लो आर्थिक वर्षको असारसम्मको भ्याट तिर्ने समय साउन महिनासम्म थप गरेकाले गत वर्ष बढी भ्याट संकलन भएको थियो ।
कोभिडको असर यस वर्ष कायमै रहे पनि सरकारले भ्याट तिर्ने समय थप नगरेकाले गत वर्षको तुलनामा कम राजस्व संकलन भएको बताइएको छ ।
पुँजीगत खर्चमा हुन नसक्दा पनि भ्याट कम असुल भएको विभाग बताउँछ । पुँजीगत खर्च बढ्दा निर्माण व्यवसायीको खातामा पैसा जाने र निर्माण व्यवसायीले निर्माण सामाग्री खरिद गर्ने भएकाले पैसा बजारमा जाँदा भ्याट बढी उठ्ने विभाग बताउँछ । यसैगरी, घरवहाल कर ८६.४३ प्रतिशत र शैक्षिक कर ७५।५६ प्रतिशत मात्रै उठेको विभागले जनाएको छ ।
आम्दानी कर सरकारले ४७ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ५६ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यभन्दा १९.६१ प्रतिशत बढी हो ।
विभागले मंसिरसम्ममा कुल १ खर्ब ५१ अर्ब रुपैयाँ आन्तरिक कर संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा अर्थात १ खर्ब ५५ अर्ब रुपैयाँ असुल गरेको छ । यो लक्ष्यभन्दा २।३५ प्रतिशत बढी हो । गत वर्ष सोही अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ संकलन गरेको थियो ।