काठमाडौं । भन्सार विभागले व्यवसायीसँग धमाधम ५ वर्षअघिका फाइल मागिरहेको छ । त्यस बेला नियमसंगत भन्सार तिरेर सामान छुटाइएका फाइलहरू अहिले पत्र काट्दै झिकाउँदै गरिरहेको छ ।
विभागको उक्त कार्यबाट व्यवसायी त्रसित बनेका छन् । विभागले २, ३, ४ र ५ वर्षअघिका फाइल भिकाइरहेको व्यवसायीले बताएका छन् ।
भन्सारले के नियतले पुराना फाइल झिकाएको भन्ने बुझ्न नसकिएको एक व्यवसायीले बताए ।
‘यदि कर छली भएको भए राजस्व अनुसन्धान वा आन्तरिक राजस्व विभागले हेर्ने हो । भन्सारले हेर्ने पनि होइन’ ती व्यापारीले क्यापिटल नेपालसँग भने, ‘तर, भन्सारले आफ्नो लेटरहेडमा कम्पनीको नाममा पुराना फाइल विभागमा बुझाउन भनेको छ ।’
व्यापारीले अहिले धमाधम भन्सारमा पुराना फाइल बुझाइरहेका छन् । स्रोतका अनुसार भन्सार विभागले माहतहका निकायलाई निर्देशन दिएपछि भन्सार कार्यालयले व्यापारीलाई पत्राचार गरेर पुराना फाइल मगाइरहेका छन् ।
कर छली भए/नभएको हेर्ने अधिकार भन्सारलाई छ ?
भन्सार स्रोतका अनुसार कर छली भए/नभएको हेर्ने अधिकार भन्सार विभागलाई छैन । तैपनि विभागको निर्देशनमा मातहतका निकायले पुराना फाइल झिकाइरहेका छन् ।
के भन्छन् भन्सार विभागका प्रवक्ता ?
भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विभागले मातहतका निकायलाई पुराना फाइल मगाउन कुनै पनि निर्देशन नदिएको बताए । भन्सार कार्यालयले कुनै फाइलमाथि शंका लागेकाले फाइल मगाएको हुन सक्ने उनको अनुमान छ ।
‘कुनै फाइलमाथि केही गडबढी भएको आशंकामा पत्राचार गरिएको हुन सक्छ,’ उनले भने, ‘त्यही भएर मातहतका निकायले फाइल मगाएका होलान् ।’
भन्सार अधिकृतलाई नरिझाउने व्यवसायीहरुसँग मात्रै फाइल मगाइरहेको दाबी गरिएको छ ।