काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ।
महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालू आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो।
कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ।
महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एसियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ। सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्वअर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्वअर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ।
अर्थसचिव मधुकुमार मरासिनीले पनि आर्थिक वद्धिदर ७ प्रतिशत हुने दाबी गरेका थिए । सरकारले गरेको दाबीलाई बहुपक्षीय दातृ निकायले खण्डन गर्दै उक्त आर्थिक वृद्धिदर भने नहुने प्रक्षेपण सार्वजनिक गरेको हो । नेपालले आगामी वर्ष भने ४ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ । विश्व बैंकले कोरोना तेस्रो लहर जोखिम निम्तिएमा अर्थतन्त्रमा थप संकुचन आउने पनि बताएको छ ।
साथै उसले सार्क राष्ट्रमध्ये भारतको आर्थिक वृद्धिदर ८ दशमलव ३, पाकिस्तानको ३ दशमलव ४, भुटानको ५ दशमलव १,बंगलादेशको ६ दशमलव ४ प्रतिशत, श्रीलंकाको २ दशमलव १, मालदिभ्सको ११ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आर्थिक वृद्धिदरको सूचीमा अफगानिस्तानलाई भने राखेको छैन । तीव्र राजनीतिक अस्थिरताकाबीच उक्त राष्ट्रको प्रक्षेपण हुन नसकेको बताइएको छ । समग्रमा दक्षिण एसियाली मुलुकले ७ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने देखिएको छ ।
सन् २०२१ मा ५ दशमलव १ प्रतिशतले बढेको विश्व अर्थतन्त्र यस वर्ष ४ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अनुमान उसको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसँग सम्बन्धित आर्थिक अवरोधले वृद्धिदर घटाएर ३ दशमलव ४ प्रतिशत ल्याउन सक्ने चेतावनी पनि उसले दिएको छ ।