कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रनले आम जनमानसमा आतंक पैदा गरिरहेको छ ।
सुरुमा दक्षिण अफ्रिकामा देखिएको कोरानाको नयाँ प्रजाति ओमिक्रोन अहिले विश्वभर विस्तार भइसकेको छ । छिमेकी देश भारतमै पनि स्थिति भयावह छ । कोभिडको तेस्रो लहर भनिने ओमिक्रोन नेपालमा समेत फैलिँदो क्रममा छ । यसबाट सतर्कता अपनाउन सरकारले विभिन्न निर्देशन जारी गरेको छ ।
तर, त्यति धेरै डराइहाल्नुपर्ने अवस्था भने छैन । डेल्टा होस् या ओमिक्रोन भेरियन्ट, एउटा यस्तो हतियार छ जो सधैं तपाईंको काममा आउन सक्छ । त्यो हो– तपाईंको शरीरको इम्युनिटी अर्थात् प्रतिरोधात्मक क्षमता ।
यदि तपाईं÷हाम्रो शरीरमा इम्युनिटी पावर बलियो छ भने ओमिक्रन संक्रमण भए पनि सजिलै रिकभर हुन सकिन्छ । यसकारण कोभिड १९ को महामारी सुरु भएदेखि नै खानपान र एक्सरसाइजमार्फत प्रतिरक्षा प्रणाली बलियो बनाउन सल्लाह दिइएको बारे हामीले सुन्दै÷पढ्दै आयौं ।
शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो पार्न ताजा खाद्य पदार्थ र स्वस्थ आहार महत्वपूर्ण मानिन्छ । डब्लुएचओले पनि केही समयअघि भोजन र पोषणसम्बन्धी केही उपाय (टिप्स) बताएको थियो । यसले कोरोना महामारीमा स्वस्थ रहन र इम्युनिटी बढाउन सहयोग गर्छ । त्यसबारे हामी पनि जानिराखौं न !
घरमै बनेको खाना खाने
नेपाली समाजमा सामान्यतया घरमै बनाएर खाइन्छ खाना । तर, केही मानिससँग पर्याप्त समय नहुने हुँदा प्रायःजसो घरबाहिर होटल÷रेस्टुराँहरुमा खाना खान्छन् । अझ सहरमा एक्लै बस्ने, जागिरेका लागि त झन् समय नै हुँदैन । यस्तो अवस्थामा सकिन्छ भने घरकै भान्सामा बनेको ताजा खाना खाने कोसिस गरौं । यसरी पाकेको खाना स्वादिलो र पौष्टिकसमेत हुन्छ ।
खानाको मात्रामा ध्यान
हामी कतिपयको बानी कस्तो हुन्छ भने मीठो पाए जति पनि खाने, नमीठो हेर्दै नहेर्ने । मीठो खाना पाउँदा पेट भरिएर पनि मुख भरिँदैन । र, खाइरहन मन लाग्छ । कहिलेकाही“ त ठीकै हो तर सधैं अटेसमटेस हुने गरी खाइयो भने त्यसले फाइदाभन्दा बढी बेफाइदा गर्छ । यसकारण खानामा कन्ट्रोल गनुसर्् । भोकभन्दा बरु एक–दुई गाँस कमै खानुस् । एकैचोटि धेरै खानुको सट्टा थोरथोरै पटकपटक खानुस् । शारीरिक काम (फिजिकल एक्सरसाइज) पनि गर्नुस् ।
नुन कम खाने
प्याकिङ, फ्रोजन र पोसेस्ड फुडमा नुनको मात्रा धेरै हदसम्म हुन्छ । यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्रतिदिन केवल ५ ग्राम नुन सेवन गर्न सल्लाह दिन्छ । नुनको मात्रा कम गर्न नुनरहित या कम नुन भएको खाद्य पदार्थमा ध्यान दिनुहोस् । खानामा अतिरिक्त नुनबाट बच्न प्याकेटका खाद्य पदार्थको सेवनलाई घटाउन सकिन्छ ।
कम चिनीको सेवन
डब्लुएचओका अनुसार वयस्कहरुले दिनमा कुल बर्न गरिएको एनर्जीको ५ प्रतिशत अर्थात् ६ चम्चा मात्रै चिनी खानुपर्ने हुन्छ । इम्युनिटी बचाउन चिनीको सेवन कम गर्दा ठीक हुन्छ । कतिपय खानेकुरामा हामीलाई लाग्छ, यसमा चिनीको मात्रा हुँदैन । तर, भित्र अधिक चिनी हुन्छ । यदि तपाईंलाई गुलियो नै खान मन छ भने ताजा फलफूल खान सक्नुहुन्छ । तर, फ्रोजन फ्रुट, सिरप र डब्बामा राखिएका फल खानबाट भने बच्नुहोला ।
पर्याप्त फाइबर
फाइबर (रेसादार खानेकुरा) ले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ भने भोक पनि कम लाग्छ । लामो समयसम्म पेट टम्म राख्न र स्वस्थ रहनका लागि फाइबर प्राप्त हुने उत्पादनको सेवन गर्नु राम्रो हुन्छ । पर्याप्त फाइबरका लागि तरकारी, फल, दाल, गाजर आदिको सेवन गर्न सकिन्छ । यस्तै ओट्स, ब्राउन पास्ता, गहुँको ब्रेडमा पनि प्रशस्त फाइबरको मात्रा हुन्छ ।
पर्याप्त पानीको सेवन
स्वस्थ रहनका लागि पानी पिउनु जरुरी हुन्छ । पृथ्वीमा पानी मात्रा अधिक भएझैं हाम्रो शरीर पनि धेरैजसो पानीकै भरमा चल्छ । यहाँनेर के याद गर्नुस् भने, बोतलमा बन्द गरिएको पानी नपिउनुहोस् । चिनीपानी, गुलियो पेय पदार्थको सट्टा नरिवल पानी, कागती पानीको सेवन गर्न सक्नुहुन्छ । शरीरमा पानीको मात्रा कम हुन नदिनुहोस् । विशेषज्ञका अनुसार दिनमा कम्तीमा १० गिलास पानी अनिवार्य पिउनुपर्छ ।
मदिराबाट बच्ने
मादक पदार्थले शरीरलाई त्यति फाइदा गर्दैन भनिन्छ । यसले इम्युनिटी पावरलाई पनि कमजोर बनाइदिन्छ । यसकारण पनि सकिन्छ मदिराजन्य पदार्थ पिउँदै नपिऔं, सकिँदैन भने एकदमै न्यून मात्रै पिऔं ।