काठमाडौं। जेनजी आन्दोलनको क्रममा उत्पन्न अराजकता, हिंसा र आगजनीले मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडपमा ५० जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्।
त्यही घटनामा ठूलो आर्थिक क्षति भोगेका व्यवसायी तथा गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो कारुणकि धारणा सार्वजनिक गरेका छन्। उनले आफ्ना दशकौँको संघर्षले सिर्जना गरेको सम्पत्ति नियोजित रूपमा खरानी पारिएको गुनासो गर्दै पीडा प्रकट गरेका छन्।
उनका अनुसार जीवनभर पसिना बगाउँदै, परिवारको सुख-दुःख बिर्सेर व्यवसायमा खट्दा एउटै सपना थियो। यसको फलले केवल आफ्नै परिवार मात्र होइन, सयौँ युवाको भविष्य उज्यालो होस्। रोजगारी सिर्जना गरियोस्, घरपरिवारमा खुशी ल्याओस् भन्ने आकांक्षा पूरा गर्न पाउँदा अझै मिहिनेत गर्ने प्रेरणा मिल्थ्यो। तर भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजक समूहले नियोजित रूपमा लुटपाट र आगजनी मच्चाउँदै घर र व्यावसायिक प्रतिष्ठान खरानी बनाइदिएपछि उनले यो घडीलाई जीवनकै ठूलो घाउको रूपमा चित्रण गरेका छन्।
उनी भन्छन्, “दशकौँको मिहिनेत, आँसु र पसिनाले जोडेको सम्पत्ति एकै झड्कामा धुलोमा मिल्दा लाग्छ, आफ्नै हातले हुर्काएको बिरुवालाई कसैले निर्ममतापूर्वक उखेलेर जलाइदिएको हो।” परिवारमा ९३ वर्षीया बृद्धा फुपू र अन्य सदस्यहरू भएको अवस्थामासमेत उनीहरूले आक्रोशभन्दा बढी वेदना मात्र देखाएको उल्लेख गर्दै परिवारको आँसु देख्दा हृदय भक्कानिएको उनले सुनाए।
राष्ट्र बैंकको जागिरपछि अवकाश लिएर २०६० सालमा मोटरसाइकल वर्कसपको सानो कोठाबाट सुरु भएको व्यवसाय तीन दशकको यात्रामा अटोमोबाइल, वित्तीय संस्था, आवास, आतिथ्य र पर्यटनसम्म विस्तार भएको थियो। बैंकमा ऋणका लागि ढोका ढकढक्याएको दिन, घाटा सहेर मजदुरको तलब रोक्न नदिएको संघर्ष र असंख्य निराशाजनक रातहरूको कथा उनले स्मरण गरे। तर यी सबै कठिनाइ जितेर हजारौँ युवालाई रोजगारी दिने अवसर पाए पनि आज इमान र श्रमलाई कलंकित गर्दै भ्रष्टाचारको निराधार आरोप लगाइएर सम्पत्ति खरानी पारिएको बताउँदै उनले यसलाई घोर अपमान र अन्यायको संज्ञा दिएका छन्।
बैंकमा ऋणका लागि ढोका ढकढक्याएको दिन, घाटा सहेर मजदुरको तलब रोक्न नदिएको संघर्ष र असंख्य निराशाजनक रातहरूको कथा उनले स्मरण गरे।
उनले राजनीति व्यक्तिगत स्वार्थका लागि नभई जनताको सेवाका लागि गरेको भन्दै २०७४ मा प्रदेश सभा सदस्य, २०७८ मा कानुन मन्त्री र अहिले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको रूपमा जनताको सेवा गर्दै आएको स्मरण गरे। सांसद र मन्त्रीका सुविधा व्यक्तिगत लाभका लागि प्रयोग नगरी विपद्, असहाय, बिरामी र बेसहारा परिवारका लागि खर्च गरेको तथ्य पत्रकार सम्मेलनमार्फत पटक–पटक सार्वजनिक गरेको भन्दै उनले प्रश्न उठाए, “देशमै बसेर व्यवसाय गर्नु, युवालाई रोजगारी सिर्जना गर्नु, समाजसेवामा लाग्नु के मेरो अपराध होरु”
त्यसैगरी उनका भाइ ध्रुव थापाको घरमा समेत आगजनी हुँदा परिवारकै साथमा रहेका कामदार बहिनीहरू जिउँदै जलाइएका घटनाले आफूलाई गहिरो पीडा दिएको उनले बताए। “निर्दोष आत्माहरूलाई यति अमानवीय कृत्यले मार्दा मेरो हृदय टुट्छ, उनीहरूको के दोष थियोरु के म राजनीति गरेको कारण मेरो परिवार यति कठोर सजाय भोग्नुपर्ने होरु” भन्दै उनले अपराधीमाथि कठोर कारबाहीको माग गरेका छन्।
उनले जीवनभर सुशासन र पारदर्शितालाई धर्म ठानेर एक पैसा भ्रष्टाचार नगरेको र कुनै प्रलोभनमा नपरेको स्पष्ट गर्दै, “यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने म जस्तोसुकै सजाय भोग्न तयार छु, तर निर्दोष हुँदा पनि अपमानित हुनु अमानवीय मात्र होइन, घोर अन्याय हो” भनेका छन्।
जेनजीको नाममा नियोजित रूपमा आफू र आफ्नो परिवारमाथि गरिएको विनाशलाई उनले आन्दोलन नभई अपराध करार गर्दै यसले मुलुकको अर्थतन्त्रलाई दशकौँ पछाडि धकेलेको आरोप लगाए। सत्य–तथ्य छानबिन भई दोषीमाथि कठोर कारबाही हुनुपर्ने जोडदार माग गर्दै उनले भने, “भौतिक सम्पत्तिहरू जलेर नष्ट भए, संरचना खण्डहर बने पनि मेरो आत्मबल, इमानदारी र प्रतिबद्धता जल्न सक्दैन। यही नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।”
यस पीडादायी घडीमा सहानुभूति, सद्भाव र हौसला प्रकट गर्ने सम्पूर्ण शुभचिन्तक, मतदाता र नागरिकप्रति उनले आभार प्रकट गर्दै, निर्वाचन क्षेत्रका जनताको साथले आफूलाई अझ दृढ बनाएको उल्लेख गरे। “तपाईंहरूको सद्भाव र साथले मलाई यो खरानीभित्रै नयाँ आशाको बीउ रोपेर फेरि उठ्ने दृढसंकल्प दिएको छ,” भन्दै उनले आफ्नो बयान टुंग्याएका छन्।