काठमाडौं । नेपालमा दुइटा क्यासिनोमा लगानी गरेको एसएचएल म्यानेजमेन्ट प्रालिले सरकारलाई कर तिरेको छ । एसएचएल म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत माइक बोल्जोभरलाई सरकारले कर नतिरेको भन्दै गत शनिबार विदेश जाने क्रममा रोक्दै विमानस्थलबाट फर्काएको थियो ।
एसएचएल म्यानेजमेन्टअन्तर्गत काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटल र रूपन्देहीको भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित क्यासिनोले सरकारलाई रोयल्टी र नवीकरण दस्तुरका रूपमा १४ करोड २० लाख कर तिर्न बाँकी थियो ।
कम्पनीले मंगलबार १४ करोड २० लाखको बैंक ग्यारेन्टीमार्फत कर तिरेको हो । कर तिरेसँगै एसएचएल म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत माइक बोल्जोभर मंगलबार नै कतार एयरवेजमार्फत दक्षिण अमेरिका लागेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले माइकले बैंक ग्यारेन्टीमार्फत कर तिरेको पुष्टि गरे । ‘उहाँले आजै बैंक ग्यारेन्टी राख्नु भएको छ’, मन्त्रालयका सचिव न्यौपानेले भने, ‘योसँगै विदेश जाने बाटो खुला भएको हो ।’
गत आर्थिक वर्ष २०७७/७८ को बक्यौता रकम पुस मसान्तभित्र तिरिसक्नुपर्ने भए पनि एसएचएल म्यानेजमेन्ट अन्तर्गतका दुई क्यासिनोले तिरेका थिएनन् । कम्पनीले भने कोभिड महामारीका कारण क्यासिनो सञ्चालन नभएको भन्दै राजस्व छुट मागेको थियो ।
तर, सरकारले राजस्व छुटसम्बन्धी कुनै निर्णय नभएको भन्दै बक्यौता रकम उठाएको हो ।
गत शनिबार पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा एसएचएल म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत माइक बोल्जोभरलाई विमानस्थलमा रोकिएको थियो ।