म्याग्दी । वरपर गुराँसको जंगल । डाडाको सम्म फाँट । एकान्त वातावरण । पृष्ठभूमिमा लहरै देखिने हिमशृङ्खला । ग्रामीण बस्ती । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान अहिले पर्यटकका पर्खाइमा छ ।
स्थानीय अगुवा भक्तबहादुर पुर्जा आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउँछन् । ‘प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् । सुनसान छ’, उनले भने, ‘अन्नपूर्ण गाउँपालिकाका धेरै पर्यटकीय स्थल जाने बीच बाटोमा पर्ने आलडाँडाको प्रर्वद्धन आवश्यक छ ।’
सो स्थानमा ‘हिमालयन भ्यू एन्ड गेस्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल वार्षिक दुई सय जना पर्यटक आउने गरेका छन् । आलडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।
हिमाल र पृष्ठभूमिमा देखिने सूर्योदय र सूर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाँडाको भ्रमणमा गर्नुभएका सुरेन गुरुङले बताए । गुराँसको जंगलका साथै बिभिन्न प्रजातिका वनस्पति, जडिबुटी, वन्यजन्तु र पन्छीहरूको पनि अवलोकन गर्न पाइने उनले जानकारी दिए । करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ । एकदेखि अर्को ठाउँमा जाने पर्यटकहरुका लागि आलडाँडा केन्द्र मानिन्छ ।
म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।
राम्चेदेखि तीस मिनेट, करबाकेही, फुलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आलडाँडा पुग्न सकिन्छ । राम्चे हुँदै आलडाँडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आलडाँडामा पुग्ने पर्यटकको सुविधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गरेका छन् ।
होटलको छानोमा राखिएको जस्तापाटा बाहेक अन्य सबै संरचना काठका हुन् । दुई तले भवनमा बीस जना बास बस्न सक्ने दस कोठा छन् । पैंतीस लाख रुपैयाँको लागतमा उनले स्थापना गरेको होटलकाे कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जंगलको दृश्यावलोकन गर्न सकिन्छ । एक रात बास बस्न प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्छ ।
बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाउन ३७ लाख लगानी गरेका पुर्जा कोभिडपछि पर्यटक आउने आशामा छन् । दस वर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे सञ्चालन गरेका थिए । स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फारको रोटी, ढिँडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् ।