काठमाडौं। प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन्।
आज संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका हुन्।
सभामुख घिमिरे र अध्यक्ष दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको जानकारी गराएका छन्।
वक्तव्यमा भनिएको छ, ‘भदौ २३ र २४ को जेनजीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ। आन्दोलनको क्रममा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।’
आन्दोलनका क्रममा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रलाई उनीहरुले आग्रह गरेका छन्।
भदौ २४ मा बानेश्वरस्थित संसद् भवन, सिंहदरबारस्थित संघीय संसद् सचिवालयलगायत विभिन्न सरकारी कार्यालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान एवं सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेज नष्ट हुने गरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको सभामुख र अध्यक्षको भनाइ छ।