बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा सेयर बजार घट्दो प्रवृत्तिमा देखिए पनि करिब २२५० को बिन्दुबाट तत्कालका लागि बजार फर्किएको छ । पछिल्लो समय ओमिक्रोनको हल्लाले बजार माथि जाने संकेत देखाए पनि ढुक्क भएर लगानी गर्ने वातावरण भने बनिसकेको छैन । पुसमा सरकारले उठाउने राजस्व, ऋणीले तिर्ने सावाँ तथा ब्याज, सरकारले गर्ने खर्च, नेपाल राष्ट्र बैंकले पठाएको पुनर्कर्जा र कोभिड–१९ को तेस्रो लहरले पार्ने असरलाई हेरेर मात्रै आगामी दिनमा सेयर बजारको प्रवृत्ति विश्लेषण गर्न सकिन्छ ।
वित्तीय बजारमा तरलता अभाव देखिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन गरेको प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकले हस्तक्षेप ग¥यो । केन्द्रीय बैंकको हस्तक्षेपसँगै बैंक तथा वित्तीय संस्थाले पनि ब्याजदर वृद्धिमा संयमता अपाउन खोजेको देखिन्छ । र, त्यसले सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने देखिन्छ । ब्याजदर बढाएर मात्रै निक्षेप नबढ्ने कुरामा बैंक तथा वित्तीय संस्था प्रस्ट भएका छन् । बैंकिङ प्रणालीमा सरकार र राष्ट्र बैंकले तरलता बढाउन सक्दो प्रयास गरेको छ । सोही कारण तरलता अभावको त्रास हटेर लगानीकर्तामा आत्माविश्वास बढाएको देखिन्छ ।
पुँजी बजारमा कुनै पनि सूचनाको छिटो प्रतिक्रिया आउँछ र अधिकतम सूचनाहरु एकदमै संवेदनशील पनि हुन्छन् । बजारमा केही राम्रो÷नराम्रो हुँदैछ भन्ने सूचना प्रवाह भए पनि राम्रो हुने वा नहुने कुरा भने भविष्यले निर्धारण गर्छ । तर, बजारमा त्यसको प्रभाव वर्तमानमा देखिन्छ । अहिलेको परिस्थितिलाई हेरेर अबको सेयर बजारको चित्र कस्तो हुन्छ ठ्याक्कै भन्न सकिने अवस्था छैन । बैंक तथा वित्तीय संस्थाले नयाँ बचत सिर्जना गर्न सकेका छैनन् । आयातको बढ्दो अवस्था र विप्रेषण आप्रवाहमा आएको गिरावटका कारण अर्थतन्त्र समस्यामा पर्दै गएको देखिन्छ । जसका कारण बजार अहिले नै बढेर ३२ सय अंकको रेकर्ड तोडिहाल्छ भन्ने स्थिति छैन । यद्यपि विगतमा सेयर बजारबारे भएको नकारात्मक ‘सेन्टिमेन्ट’ भने कम हुँदै गएको छ ।
आगामी दिनमा अर्थतन्त्रको दिशानुसार नै सेयर बजार अघि बढ्ने देखिन्छ । वर्तमान अवस्थाबाट हेर्दा बजार धेरै माथि जाने र धेरै तल आउने अवस्था छैन । पछिल्लोपटक डिम्याट खाता खोल्ने ५० लाख, मेरो सेयरको सेवा लिने २५ लाख र दोस्रो बजारमार्फत सेयर कारोबार गर्ने ११÷१२ लाख पुगिसकेकाले बजार धेरै घट्ने स्थिति छैन ।
नेपालमा वास्तविक समय (रियल टाइम) मा कारोबार गर्न अझै सकिँदैन । कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरी लगानी गर्न सकेको खण्डमा दिर्घकालीन फाइदा हुने अधिक सम्भावना हुन्छ । मुलुकको अर्थतन्त्रको अवस्थाभित्र सेयर बजार चलायमान हुने भएकाले सामूहिक लगानी कोषका लागनीकर्तासमक्ष कोषले गरेको प्रतिबद्धतामा आफूलाई खरो साबित गर्नुपर्ने चुनौती छ । बजारको उचित विश्लेषण गर्दै सामूहिक लगानी कोषले उच्चतम प्रतिफलको सुनिश्चिताका लागि आफ्ना योजना, रणनीति तथा कार्यनीति बनाउँदै अघि बढ्नुपर्ने दबाब छ ।
म्युचुअल फन्ड बारेको भ्रम र यथार्थ
पछिल्लो समय सेयर बजारमा देखिएको उतारचढावमा सामूहिक लगानी कोष र बजार निर्माताका रुपमा आएको नागरिक स्टक डिलरले खासै भूमिका खेल्न नसकेको भनेर विश्लेषण हुने गरेको छ । जुन वास्तविकता होइन । नेपालमा बिनाअध्ययन हचुवाको भरमा सूचना संप्रेषण हुने गरेको छ । धेरैले सामूहिक लगानी कोषलाई मर्चेन्ट बैंकरको रुपमा बुझ्ने गरिएको पाइन्छ । तर, लगानी कोष मर्चेन्ट बैंकर होइनन् । म्युचुअल फन्डले गरेको लगानीको सम्पूर्ण फाइदा मर्चेन्ट बैंकरले लिने बुझाइ छ, जुन गलत हो । लगानीकर्ताहरुको समूह म्युचुअल फन्ड हो भने मर्चेन्ट बैंकरहरु कोष व्यवस्थापक (फन्ड म्यानेजर) मात्रै हुन् । फन्ड म्यानेजरले जारी गर्ने प्रत्येक म्युचुअल फन्डको योजनाका आधारमा नाफा–नोक्सान, वासलात लगायतका वित्तीय विवरणहरु छुट्टै लेखांकन गर्नुपर्छ र त्यसैका आधारमा हरेक म्युचुअल फन्डले प्रतिफल दिने गर्दछन् । म्युचुअल फन्ड परिपक्व भएपछि फन्ड म्यानेजरले रकमसमेत त्यसैका आधारमा फिर्ता गर्छन् । मर्चेन्ट बैंकरले म्युचुअल फन्ड सञ्चालन गरेबापत धितोपत्र बोर्डले तोकेअनुसारको ‘कमिसन’ तथा शुल्क मात्रै लिने गर्दछ ।
नेपालमा विधिवत् रुपमा म्युचुअल फन्डको कारोबार सुरु भएको एक दशक मात्रै भएको छ । सिद्धार्थ स्किम–१ लाई पहिलो म्युचुअल फन्ड मानिन्छ । त्यसयता २८ अर्ब रूपैयाँ हाराहारीको म्युचुअल फन्डका योजनाहरु आए । त्यसमध्ये करिब ५ अर्ब रूपैयाँ बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी भएको भए पनि बाँकी रकम सेयर खरिदमै गएको छ । सेयर खरिद र निक्षेपमा बाहेक अन्यत्र म्युचुअल फन्डहरुले लगानी गर्ने अवस्था छैन । फन्ड म्यानेजरको मुख्य दायित्व भनेको उसलाई विश्वास गरेर लगानी गरेका लगानीकर्तालाई अधिकतम प्रतिफल दिन प्रयत्न गर्नु हुन्छ ।
सेयर बजारमा लगानी गर्ने चाहना भएका तर बजारसम्बन्धी ज्ञान कम भएका वा जोखिम लिन डराउने लगानीकर्ताको रकमलाई म्युचुअल फन्डमार्फत फन्ड म्यानेजरले सेयरमा लगानी गरेर अधिकत प्रतिफल दिने कोसिस गरिरहेको हुन्छ । यसले कम जोखिममा अधिकतम प्रतिफल दिन आफ्नो ध्यान केन्द्रित गरिरहेको हुन्छ । मर्चेन्ट बैंकरले लगानीकर्ताको रकमबाट म्युचुअल फन्ड सञ्चालन गर्ने भएकाले लगानीकर्ताको विश्वासलाई कुल्चने वा लगानी जोखिममा पार्ने गरी जोखिम लिन चाहँदैनन् । त्यसकारण सेयर बजार उत्तारचढावमा पनि म्यूचुअल फन्डले सचेततापूर्वक लगानी गरिरहको हुन्छ । फन्डले कम्पनीका आधारभूत पक्ष र बजारको प्रवृृत्तिलाई केलाएर लगानी गर्ने भएकाले बढी भावनात्मक हुने छुट हँुदैन । बजारलाई घट्न वा बढ्नबाटै रोक्ने गरी कुनै पनि म्युचुअल फन्ड व्यवस्थापकले काम गर्न सक्दैन । सामान्य अर्थमा भन्दा बजारलाई संरक्षण गर्ने दायित्व सामूहिक लगानी कोषको होइन ।
कोषले बजार निर्माताको रुपमा भूमिका खेल्ने हो भने लगानीका लागि आवश्यक कोष नियामक वा सरकारले उपलब्ध गराउनुपर्छ । जसमा घटेका बेला जतिमा पनि किन्न सकिने र बढ्दो मूल्यमा जतिमा पनि बेच्न सक्ने सुविधासहित कोष उपलब्ध गराउने हो भने मात्रै कोष व्यवस्थापकले बजार उत्तरचढावमा भूमिका खेल्न सक्छ । यद्यपि पछिल्लो समय सरकारको लगानीमा नागरिक स्टक डिलर सञ्चालनमा आएको छ । स्टक डिलरको पनि प्रमुख उद्देश्य भनेको अधिकतम नाफा नै कमाउने हो । जुन कम्पनीको प्रमुख उद्देश्य नाफा कमाउने हुन्छ, उसले बजार बढेको बेलामा सेयर बिक्री गर्ने र घट्दा सस्तो मूल्यमा सेयर किन्ने नै हो । तर, नेपालमा लगानीकर्ताको मनोविज्ञान बजार निरन्तर रुपमा बढ्नुपर्छ, घट्नै हुँदैन भन्ने प्रकृतिको भएकाले पनि केही समस्या आएको देखिन्छ । तर, सेयर बजारको सुन्दर पक्ष भनेकै मूल्यमा छिटोछिटो हुने उत्तरचढाव नै हो । त्यही उतारचढावमा लगानीकर्ताले फाइदा लिने हो । स्मार्ट लगानीकर्ताले घट्दो बजारमा पनि फाइदा लिन सक्छन् भने बजार नबुझेका लगानीकर्ताले बढ्दो बजारमा पनि कहिलेकाँही गुमाउने स्थिति आउँछ ।
नेपालमा तुरुन्तै ‘इन्ट्रा डे’ सेयर खरिद–बिक्री गर्न सकिँदैन । त्यसैले घट्दो बजारमा पनि सामूहिक लगानी कोष व्यवस्थापकले नाफा कमाउने प्रयास गर्छ । जस्तो, ५ सय रूपैयाँ सेयर मूल्य भएको कुनै कम्पनीको सेयर मूल्य घटेर ४ सय ९० रूपैयाँमा आयो भने व्यवस्थापकले १० रूपैयाँ घाटा खाएर भए पनि सेयर बेच्छ । अब उसको सेयर मूल्य घटेर ४ सय ५० रूपैयाँ भएको बेला खरिद गरी बढेको बजारमा अधिकमत नाफा कमाउने प्रयास गर्छ ।
बजार घट्ने अवस्था देखियो भने नोक्सानी कम गर्न कोष व्यवस्थापकले पनि सेयर बिक्री गर्न सक्छ । तर, सामूहिक लगानी कोषले अन्य लगानीकर्ताले जस्तो ह्वातै मूल्य बढाउने, घटाउने वा बजारलाई असर गर्ने गरी कुनै पनि काम गर्दैन । सेयर खरिद–बिक्री गर्दा पनि बिस्तारै रणनीतिहरु अँगाल्छ । मानौं, कोष व्यवस्थापकसँग कुनै कम्पनीको १० लाख कित्ता सेयर छ । सो सेयरको मूल्य घट्दै छ भन्ने जानकारी आयो भने एकै पटक १० लाख कित्ता नै बिक्री गर्दैन । एकैपटक सेयर बेच्दा बजार थप ‘पेनिक’ बन्ने भएकाले आफंैलाई असर गर्ने काम कोष व्यवस्थापकले गर्दैन । त्यसैगरी ५ रूपैयाँमा किनेको कुनै कम्पनीको सेयरको मूल्य बढेर १ हजार रूपैयाँ पुग्ने अवस्थामा छ भने पनि सामूहिक लगानी कोषले १ हजारमा बिक्री गर्ने भनेर कुरी बस्दैन । कोष व्यवस्थापकले ७ सय ५० रूपैयाँदेखि नै थोरैथोरै परिमाणमा बेचेर १ हजार मूल्यसम्म पुर्याउँछ ।
कोषको औसत प्रतिफल कति ?
विश्वव्यापी रूपमा सामूहिक लगानी कोषबाट प्राप्त हुने प्रतिफल बैंकको मुद्दती खाताको ब्याजदरभन्दा बढी र प्रत्यक्ष लगानीभन्दा कम हुने गरेको पाइन्छ । विगत १० वर्षको बीचमा परिपक्व भएका नेपाली म्युचुअल फन्डहरुले उच्च प्रतिफल दिएका छन् । सिद्धार्थ स्किम–१ ले ५ वर्षको अवधिमा करिब ४५ प्रतिशतको प्रतिफल दिएको छ । त्यस्तै, नबिल ब्यालेन्स फन्डले औसतमा ३५ प्रतिशत प्रतिफल दिएको छ ।
सुरूवाती समयमा आएका म्युचुअल फन्डका लागि सबै कुराले सकारात्मक सपोर्ट गरेकाले प्रतिफल पनि उच्च रहेको देखिन्छ । तर, पछिल्ला कोषहरुको प्रतिफल घट्दै गएको देखिन्छ । पछिल्लो समयमा परिपक्व भएका लक्ष्मी बैंक, एनएमबी बैंक, एनआईसी एसियाका म्युचुअल फन्ड, इन्भेस्टमेन्ट बैंकको सम्वृद्धि म्युचुअल फन्ड आदिलाई हेर्ने हो भने औसतमा १५ देखि २० प्रतिशत प्रतिफल प्राप्त भएको देखिन्छ ।
कुनै कम्पनीको प्रतिफलसँग सामूहिक लगानी कोषको प्रतिफललाई तुलना गर्न मिल्दैन । कुनै कम्पनीले धेरै लाभांश दिएका होलान्, कुनैले कम । कुनै बेला उच्च प्रतिफल दिएका लघुवित्त वित्तीय संस्था र बैंकहरुको प्रतिफल घट्दै आएको छ भने अन्य कतिपय क्षेत्रका कम्पनीको लाभांश बढिरहेको पनि अवस्था छ ।
नयाँ म्युचुअल फन्डको सम्भावना
पछिल्लो समय सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को कारोबारमा केही सुस्तता देखिएको छ । लामो समयदेखि नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष नहुँदा प्रशासनिक तथा प्रक्रियागत ढिलाइका कारण नयाँ म्युचुअल फन्ड बजारमा आउन सकेको छैन । एक दर्जन बढी म्युचुअल फन्डहरु निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिइए पनि बोर्ड सञ्चालक समितिले निर्णय नगर्दा निष्कासन गर्न पाएका छैनन् ।
सामूहिक लगानी कोष जनतासँग पैसा संकलन गरी लगानी गर्ने र त्यहीअनुरूप प्रतिफल दिने योजना अनुसार आएको हुन्छ । संस्था (कम्पनी) को अध्यक्षले भनेको भरमा वा कम्पनीको प्राथमिक निष्कासन (आइपीओ) मा आएझैं गरी सजिलै सामूहिक लगानी कोषमा पैसा आउँदैन । मर्चेन्ट बैंकले अघि सारेको योजनालाई धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् सामूहिक लगानी कोष बजारमा आउँछ ।
लगानीकर्ताको ध्यान जहिले पनि म्युचुअल फन्डभन्दा प्राथमिक निष्कासनमा बढी देखिन्छ भने बोर्डले पनि म्युचुअल फन्डलाई भन्दा कम्पनीको प्राथमिक निष्कासनलाई नै ध्यान दिनुपर्छ । विभिन्न कम्पनीहरुले म्युचुअल फन्डको स्वीकृतिका लागि बोर्डमा आवेदन दिएपनि तत्कालै स्वीकृति पाएर नयाँ फन्ड आउने सम्भावना छैन ।
बजारमा नयाँ फन्ड आएको भए बजारमा लगानी गर्न सुरू गर्नुपर्ने हुन्थ्यो । नयाँ फन्ड आएको भए घटेको बजारमा लगानी गर्न सकिने अवस्था थियो । फन्डको पैसा पनि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी लगानी गर्न सकिन्छ । आधारभूत रुपमा विश्लेषण गरी मूल्य आम्दानी अनुपात राम्रा भएका कम्पनीको सेयर किन्न सक्ने अवस्था थियो । नयाँ फन्ड नआएकाले सेयरको माग कुनै न कुनै रुपमा कमी आएको छ ।
यद्यपि वित्तीय क्षेत्रले तरलता अभाव खेपिरहेको र ब्याज दर बढिरहेको बेलामा म्युचुअल फन्ड आएको भए बिक्री गर्न साह्रै गाह्रो हुन्थ्यो । तरलता अभाव र ब्याजदर उच्च भएको समयमा न्यून प्रतिफलका कारण फन्ड बिक्री गर्न नसक्ने अवस्था देखेरै वित्तीय संस्थाले रूचि नदेखाएका पनि हुन सक्छन् । किनभने अधिकांश मर्चेन्ट बैंकहरु वित्तीय संस्थाका सहायक कम्पनीका रुपमा खोलिएका छन् ।
कोषको मूल्य समायोजनमा गलत बुझाइ
सामूहिक लगानी कोषको स्किम न्याभ (नेट एसेट भ्यालू–एनएभी) ले मापन गर्छ । र, त्यसैका आधारमा कोषले लाभांश दिने हो । म्युचुअल फन्डको मूल्य समायोजनको विषयमा बजारका राम्रै विश्लेषकहरुमा पनि ज्ञानको अभाव देखिन्छ । म्युचुअल फन्डमा लाभांश घोषणा भएपछि ‘बुक क्लोज’ को मिति तय हुन्छ । बुक क्लोज भएकै दिन म्युचुअल फन्डको जगेडालाई तिर्नुपर्ने दायित्वको रुपमा ‘बुक’ गरिन्छ । जसले गर्दा सञ्चित कोष (रिजर्भ) सम्पत्ति (इक्विटी) बाट घटेर तिर्नुपर्ने दायित्वमा जोडिन जाने भएकाले तिर्नुपर्ने (पेयबल) रकम बढ्न जान्छ । जसका कारण मूल्य समायोजन हुन्छ । जस्तै, १८ न्याभ भएको म्युचुअल फन्डका लगानीकर्ताका लागि ३० प्रतिशत प्रतिफल घोषणा गरिएको रहेछ भने न्याभ १५ मा समायोजन हुन्छ । १० रूपैयाँको म्युचल फन्डको ३० प्रतिशत भनेको ३ रूपैयाँ हुन्छ । अब १८ रूपैयाँमा ३ रूपैयाँ घटाएर न्याभ १५ रूपैयाँ कायम गरिन्छ । त्यसैले न्याभलाई अनावश्यक हिसाबले बुझिरहनु जरूरी छैन ।
थापा एनआईबीएल क्यापिटल नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।
-क्यापिटल बिजनेस म्यागेजिनबाट ।