काठमाडौं। नागढुंगा सुरुङमार्ग सञ्चालनको लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ठेक्का र समयसीमामा सुरुङमार्ग सञ्चालनका लागि वार्षिक करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सो रकमका लागि ठेक्का आह्वान गरिएको छ। यस ठेक्काको अन्तिम म्याद पुस १६ सम्म तोकिएको छ।
उक्त दिन दिउँसो १ बजे बोलपत्र खोलिने र त्यसपछि मूल्यांकन प्रक्रिया सुरु हुने आयोजनाले जनाएको छ। सम्झौता प्रक्रिया टुंगो लाग्न अझै कम्तिमा दुई महिना लाग्ने देखिएको नागढुंगा सुरुङमार्ग निमार्ण आयोजनाका सूचना अधिकारी तथा उपनिर्देशक सञ्जय पन्थीले बताए।
‘भौतिक निर्माणको अवस्था सुरुङभित्रको मुख्य काम (फिनिसिङ) र लाइटिङका कामहरू लगभग सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘तर, सुरुङको पश्चिम पोर्टल अर्थात धादिङतर्फ पहिरोका कारण केही कामहरू बाँकी छन्। पहिरो नियन्त्रणका लागि आवश्यक सामानहरू कार्यक्षेत्रमा पुग्ने क्रममा रहेको र त्यसपछि मात्र सुरक्षात्मक कार्य अघि बढ्ने छ।’
नागढुंगा सुरुङमार्ग सञ्चालनको समय धकेलिएको छ। आउँदो जनवारी (पुस तेस्रो साता)देखि सञ्चालनमा ल्याउने भनिएको नागढुंगा सुरुङमार्ग भदौ २३ र २४ भएको जेनजी प्रर्दशनले करिब दुई महिनापछि सञ्चालनको समय धकेलिएको हो। यसअघि गत दसैंमा यात्रुलाई राहत दिने गरी सञ्चालन ल्याउने भनिए पनि प्रर्दशनका कारणले सञ्चालनको समय जनवारीमा सरिएको थियो। तर, कागजी प्रक्रिया लम्बिएसँगै सञ्चालन समय झनै धकेलिएको उपनिर्देशक पन्थीले बताए। राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्गलाई सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्थापकीय र प्राविधिक तयारी तीव्र पारिएको छ।
आयोजनाका अनुसार पहिरो नियन्त्रण र बाँकी भौतिक संरचना निर्माणका लागि अझै तीन महिनासम्म लाग्ने अनुमान छ।
बाँकी रहेका पूर्वाधारहरू पश्चिम पोर्टलतर्फको एप्रोच रोड (पहुँच मार्ग) र टोल बुथ (शुल्क संकलन केन्द्र) निर्माणको काम अझै बाँकी छ। पहिरो व्यवस्थापनको काम सुरु नभएसम्म यी संरचना बनाउन नमिल्ने भएकाले सञ्चालन अवधि केही पछि धकेलिएको हो। आयोजनाका अनुसार पहिरो नियन्त्रण र बाँकी भौतिक संरचना निर्माणका लागि अझै तीन महिनासम्म लाग्ने अनुमान छ।
सुरुङमार्ग २४सैँ घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ। जिम्मा पाउने कम्पनीले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ। यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको आयोजनाले जनाएको छ।
सञ्चालनका लागि ठेक्का प्रक्रिया र भौतिक पूर्वाधारको बाँकी कामलाई एकैसाथ लैजाने योजना बनाइएको छ। ठेक्का सम्झौता र पश्चिम पोर्टलको सडक निर्माण सम्पन्न भएपछि मात्र सर्वसाधारणका लागि सुरुङ मार्ग खुला हुनेछ।
सुरुङमार्ग निर्माणमा जापानको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी कूल २२ अर्ब लागतमा सुरुङमार्ग निर्माण सम्पन्न भएको हो। सन् २०१६ डिसेम्बर २२ मा सम्झौता भएको ऋण सरकारले ४० वर्षमा तिर्ने छ। ऋणको ब्याजदर ०.०१ प्रतिशत छ। यो रकम टोल शुल्क उठाएर तिर्ने सरकारी तयारी छ।
डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिने आयोजनाले जनाएको छ।
गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क सुरुङ प्रयोग गरेबाापत पनि निर्धारण गरेको छ। सवारीअनुसार ६५ रुपैयाँदेखि ६ सय रुपैयाँ निर्धारण गरिएको छ। नागढुंगा सुरुङमार्ग उपभोग दस्तुरअनुसार कार÷भ्यानले काठमाडौं आउँदा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्ने छ।
यस्तै, मिनी बस/ट्रकको काठमाडौं भित्रिँदा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्ने छ। यस्तै, बस/ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने छ। यस्तै, भारी सवारी साधनको हकमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउँदा ६ सय रुपैयाँ र काठमाडौंबाट बाहिर जाँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय छ।
सो सुरुङमार्गमा यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुई पांग्रे, तीन पांग्रे सवारी साधन र नन-टोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिने आयोजनाले जनाएको छ।