काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
केन्द्रको आजको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरूसमेत सञ्चालन गर्न सिफारिस गरेको छ । सोही दिनदेखि रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई सिफारिस गरिएको प्रवक्ता केन्द्रका प्रवक्ता सुनिता नेपालले बताइन ।
डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्ने आवश्यक व्यवस्थाका लागि गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरिएको उनले जानकारी दिइन ।
विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न सिफारिस गरिएको बताइन ।
उनले विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकम नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको जानकारी पनि दिइन ।रासस