काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये २९ वटा आयोजना कार्यान्वयन नहुने भएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय कैलालीमा चालू आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ७८ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरेका २९ आयोजना कार्यान्वयन नहुने भएका हुन्। योजना कार्यान्वयनमा नजाँदा विनियोजित बजेट फ्रिज हुन देखिन्छ।
दुई वा सोभन्दा बढी आयोजना एउटै शीर्षकमा समावेश भएका कारण १५ बहुवर्षीय स्रोत सुनिश्चितता नभएको कारण १०, ठेगाना फरक परेका तीन र कार्यक्षेत्रमा नपरेका कारण आयोजना कार्यान्वयन नहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले २५ लाखभन्दा कम लागतका आयोजनामा बजेट विनियोजन गर्न नपाइने मापदण्ड बनाएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरूले दुईदेखि १४ वटा आयोजनाहरू एउटै शीर्षकमा राखी २५ लाखभन्दा बढी लागत देखाएर बजेट विनियोजन गरेका थिए।
त्यसरी विनियोजन गरिएको बजेट योजनामा पुनस् बाँडफाँट गर्नुपर्ने झन्झटले तीमध्ये केही योजना कार्यान्वयन नहुने अवस्थामा पुगेका हुन्।
त्यसैगरी, कतिपय पुल निर्माणका आयोजनामा लागत स्टिमेटभन्दा कम रकम विनियोजन भएको तर डीपीआर लागत स्टिमेट र ड्रइङ डिजाइन नभएकोले स्रोत सुनिश्चितता प्राप्त नभएको कार्यालयले जनाएको छ। यस वर्ष कार्यान्वयन नहुने २९ मध्ये चार योजना क्रमागत र २५ योजना नयाँ हुन्।
धनगढी उपमहानगरपालिका–५, ३ र १ को चार वटा सडक खण्ड निर्माणका लागि एउटै शीर्षकमा ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो। गौरीगंगा नगरपालिका– ७, ८, ९, १० र ११ पर्ने आठ वटा सडक खण्ड निर्माणका लागि एउटै शीर्षकमा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो। गोदावरी नगरपालिका– १, २, ३, ४ र ६ मा पर्ने ६ वटा सडक खण्ड निर्माणका लागि एउटै शीर्षकमा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो।
बजेट हेर्दा ठूलो देखिए पनि टुक्रे योजना रहेका कारण कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ। यसैगरी, टीकापुर एयरपोर्टको रनवे कालोपत्रे गर्नका लागि प्रदेश सरकारले चालु वर्षमा ३५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर, एयरपोर्ट नेपाल सरकारको क्षेत्राधिकारमा रहेकाले उक्त योजना कार्यान्वयन हुन सकेन।
जोशीपुर–५, घैला कुबरी खेलामा ट्रस पुल निर्माण गर्न २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। पुल निर्माण गर्न धनगढी–८ को सेतोखोलामा ४० लाख, धनगढी–१ को सुकुटी खोलामा ४० लाख, कैलारी–६ बनकट्टाको झल्लारी खोलामा ३० लाख, कैलारी–७ बसन्ता र नारायणपुर जोड्ने कटैनी नदीमा ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ। तर, उक्त पुल निर्माणको तयारी पूरा नभएको कारण बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता दिएको छैन।
लम्कीचुहा– ९ र १० जोड्ने सुतैयाखोला तथा लम्कीचुहा–३ र जानकी–१ मा पर्ने बुके खोलामा एक हजार रुपैयाँ मात्रै बजेट विनियोजन भएकाले क्रमागत योजना पनि कार्यान्वयन नहुने भएको छ। बर्दगोरिया–६ को विशालनगर–बास्कोटा जोड्ने पुल निर्माणको योजना क्रमागत भए पनि १३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएकोले कार्यान्वयन हुन सकेन। गोदावरी नगरपालिका– १ को तीन वटा सडक खण्डको क्रमागत योजनामा ३० लाख रुपैयाँ विनियोजन भएको योजना पनि कार्यान्वयन हुन सकेको छैन।