काठमाडौं। सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल)को रेटिङलाई केयर रेटिङ्स नेपालले पुनः पुष्टि गरेको छ। कम्पनीको बलियो संस्थागत आधार र सरकारी स्वामित्वलाई मुख्य आधार मान्दै केयर रेटिङ्सले ‘ए–प्लस’ रेटिङ प्रदान गरेको हो।
यो रेटिङ प्राप्त गर्ने संस्थाले आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता राख्छन् भने रेटिङको अर्थ यस कम्पनीमा लगानी गर्दा क्रेडिट जोखिम निकै न्यून छ र यसको वित्तीय अवस्था सुरक्षित छ भन्ने बुझिन्छ। विशेष गरी सरकारी अधिकारीहरू सम्मिलित सञ्चालक समिति र व्यवस्थापनका कारण कम्पनीको साख बलियो देखिएको हो।
कम्पनीमा नेपाल सरकारको ५०.७९ प्रतिशत सेयर हिस्सा रहेको छ। यसका साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थान जस्ता सरकारी निकायहरूको १५.२४ प्रतिशत स्वामित्व छ। बाँकी करिब ३४ प्रतिशत सेयर सर्वसाधारण र अन्य संस्थापकहरूको हातमा रहेको छ।
एचआईडिसीएलको मुख्य व्यापार नेपालको जलविद्युत् र नवीकरणीय ऊर्जा क्षेत्रका आयोजनाहरूमा ऋण तथा स्वपुँजी लगानी गर्नु हो। तर पछिल्लो समय बैंकिङ क्षेत्रमा ब्याजदर घट्दा कम्पनीको व्यापारिक आम्दानीमा भने प्रत्यक्ष असर परेको छ। कम्पनीले बैंकहरूमा राखेको मुद्दती निक्षेप र आयोजनाहरूलाई दिएको ऋणको ब्याजदर घटेका कारण सञ्चालन आम्दानी खुम्चिएको रेटिङ रिपोर्टमा उल्लेख छ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल सञ्चालन आम्दानी २ अर्ब १४ करोड ७० लाख रुपैयाँ रहेको थियो। तर आर्थिक वर्ष २०८१/८२ मा यस्तो आम्दानी ३३.०९ प्रतिशतले घटेर १ अर्ब ४३ करोड ७० लाख रुपैयाँमा झरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पनि आम्दानी ५६ करोड रुपैयाँमा सीमित भएको रिपोर्टले देखाएको छ।
आम्दानी घटेपनि कम्पनीका अन्य वित्तीय सूचकहरू भने निकै मजबुत अवस्थामा रहेका छन्। कम्पनीको सबैभन्दा सबल पक्ष भनेको यो हालसम्म पूर्णरूपमा ऋणमुक्त रहेको छ। कम्पनीले बाह्य संस्थाबाट कुनै पनि ऋण लिएको छैन। जसले गर्दा यसको वित्तीय भार शून्य छ। कम्पनीको नाफा मार्जिन ९६ प्रतिशतको हाराहारीमा रहनुले यसको सञ्चालन अत्यन्तै राम्रो रहेको पुष्टि गर्छ। यसको अर्थ कम्पनीले गर्ने आम्दानीको अधिकांश हिस्सा खर्च कटौतीपछि नाफाकै रूपमा सुरक्षित रहन्छ।
कम्पनीको चुक्तापुँजी हाल २४ अर्ब ९२ करोड ८० लाख रुपैयाँ कायम छ। जसले ठूला आयोजनामा लगानी गर्ने आधार दिएको रिपोर्टमा उल्लेख छ। कम्पनीले हालसम्म २९ वटा आयोजनालाई ऋण र १३ वटा कम्पनीमा स्वपुँजी लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यी आयोजनाहरू समयमै सम्पन्न भएमा कम्पनीको आम्दानीको स्रोत विविधीकरण हुनेछ।
तर जलविद्युत् क्षेत्रमा मात्र लगानी केन्द्रित हुनु कम्पनीका लागि चुनौतीको विषय पनि बनेको छ। आयोजना निर्माणमा हुने ढिलाइ र लागत बढ्ने जोखिमले कम्पनीको प्रतिफललाई असर पार्न सक्छ। बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप र भूगर्भसम्बन्धी समस्याहरूले जलविद्युत् आयोजनाको उत्पादनमा असर पार्ने जोखिम सधैं रहन्छ। विशेष गरी हिउँदमा पानीको बहाव कम हुँदा आयोजनाको आम्दानी घट्ने र त्यसले कम्पनीलाई प्राप्त हुने लाभांशमा असर पार्ने देखिन्छ।
नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन निर्माणमा हुने ढिलाइले पनि उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न नसकिने जोखिम कम्पनीका लागि चुनौती रहेको रिपोर्टले औल्याएको छ।