पाेखरा । गण्डकी प्रदेशमा जीपीएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ ।
प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो । यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको जनाइएको छ ।
रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जीपीएसबाट पूर्वअस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पुर्याउने उद्देश्य राखिएको छ । प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक सङ्घ-संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन् । यस वर्ष १५० एम्बुलेन्समा जीपीएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ ।
यस कार्यक्रमका लागि स्वास्थ्य निर्देशनालयबाट करिब ३८ लाख रूपैयाँ र नेपाल रेडक्रसले करिब ६२ लाख रूपैयाँ खर्च गर्नेछन् ।
एउटा एम्बुलेन्समा जीपीएस जडान गर्न करिब १२ हजार रूपैयाँ र वार्षिक रिचार्ज गर्न करिब ४ हजार ५ सय रूपैयाँ खर्च लाग्ने बताइएको छ । यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जीपीएस जडान गरिएको छ भने विस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ ।
रेडक्रसका ११ जिल्ला शाखा र उपशाखामा गरी २५ एम्बुलेन्स सञ्चालनमा छन् यस कार्यक्रम अन्तर्गत ‘ग’ वर्गका एम्बुलेन्सलाई स्तरउन्नति गरी ‘ख’ वर्गमा लगिने छ । एम्बुलेन्स चालकलाई प्राथमिक उपचारसहित पूर्वअस्पताल सेवासम्बन्धी तीन दिन तालिम प्रदान गरिने छ भने प्रेषण केन्द्रका कर्मचारीलाई ६ दिनको तालिम दिइनेछ ।
त्यसैगरी प्रत्येक जिल्लामा एक–एक दिनको अभिमुखीकरण तालिम सञ्चालन हुनेछ । प्रदेशभरिका एम्बुलेन्सका लागि १०२ नम्बरमा सञ्चालनमा ल्याइएको छ । ‘डिस्प्याच सेन्टर’स्वास्थ्य निर्देशनालयमा राखी सञ्चालन गरिने जनाइएको छ ।