काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थ मन्त्रालयको महत्वपूर्ण दुई विभाग आफूमातहत नहुँदा प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् ।
राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण विभाग अर्थ मन्त्रालयमा फिर्ता नभएकोमा उनले गुनासो व्यक्त गरे ।
अर्थ मन्त्रालय, राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, महालेखा नियन्त्रक कार्यालयसमेत गर्दा अर्थसम्बन्धी ६६ प्रतिशत काम मात्रै गर्न सक्ने उनले बताए ।
राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण विभागले अर्थतन्त्र व्यवस्थापनको ३३ प्रतिशत हिस्सा ओग्टने उनले बताए ।
उक्त दुई विभाग प्रधानमन्त्री कार्यालयमातहत लगिएकाले मन्त्रालय राजस्व चुहावट तथा नियन्त्रण र सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्य प्रभावकारी रुपमा गर्न नसकिएको जनाएको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त दुई शक्तिशाली विभागलाई प्रधानमन्त्री कार्यालयमातहत तानेका थिए ।
नेपाली कांग्रेसले त्यस बेला दुई विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउन नहुने भन्दै विरोध गरेको थियो ।
अहिले नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री छन् । तर, उनले अर्थमन्त्रालयको उक्त विभागहरु फिर्ता गराउनेतर्फ कुनै पनि चासो देखाएका छैनन् ।