काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको दाबी गरेका छन् ।
मन्त्री भएको १०० दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभई तथ्यांक नआएको उल्लेख गरे ।
‘खोपको २४ लाख मात्रा हराएको होइन । हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौं’, मन्त्री खतिवडाले भने, ‘टोलटोलमा गएर लगाएको तथ्यांक नआएको मात्र हो ।’
उनले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्यांक नमिलेको समेत बताए ।
‘एउटा डब्बामा रहेको खोपको १० मध्ये ८ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइएन भने त्यो खेर जान्छ’, उनले भने, ‘त्यसरी पनि खोपको मात्रा खेर गइरहेको छ ।’
हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाको भनाइ थियो ।
मन्त्री खतिवडाले आगामी वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको बताए । उनले १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जानकारी दिए । सरकारले माघ २७ गतेसम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७५ लाई पहिलो मात्रा र ६९५ लाई खोपको पूर्ण मात्रा प्रदान गरेको छ ।
यस्तै मन्त्री खतिवडाले ५–११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए । हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोपको मात्रा प्राप्त भइसकेमा ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा लगाइएको छ । मन्त्रालयले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
‘ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक स्थानमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भइरहेको छ’, उनले भने, ‘दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडाैं उपत्यकाका मुख्य प्रवेश नाकामा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ ।’
मन्त्री खतिवडाले आफ्नो सय दिनको कार्यकालको उपलब्धमा कोरोना भाइरसको पीसीआर परीक्षण शुल्क घटाएको उल्लेख गरे । निजी अस्पताल÷प्रयोगशालामा २ हजारबाट १५ सय रर सरकारी स्वास्थ्य संस्थामा १ हजारबाट ८ सय रुपैयाँ कायम गरिएको जानकारी दिए ।
यस्तै कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, सघन उपचार कक्ष (आइसीइयू) शय्या, हाई डिपेडेन्सी युनिट (एचडियू) शय्याको संख्या वृद्धिसहित अस्पतालको क्षमता वृद्धिसमेत गरिएको उनले बताए । यस्तै कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा कोरोना भाइरसको उपचारका लागि हटलाइन ९११३३० सेवामार्फत परामर्श सेवा प्रदान गर्न सुरु गरिएको छ ।
भारतसँग सिमाना जोडिएका प्रवेश बिन्दुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९०५ को स्क्रिनिङ भएको र तीमध्ये ८७ ५ भन्दा बढीको कोभिड–१९ को परीक्षण भइरहेको मन्त्री खतिवडाको भनाइ थियो ।
रेविजविरुद्धको खोप ‘इम्युनोगÞलोबुलिन’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र वितरण गरिँदै आएकामा हाल सातै प्रदेशका एक÷एक अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको उनले बताए ।