काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउनका लागि एसियाली विकास बैंक (एडीबी) काे साथ खोजेका छन् ।
शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा अर्थमन्त्री शर्माले नेपाली उत्पादन प्रवर्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पुर्याउन पनि एडीबीसँग हाम्रो सहकार्य आवश्यक छ ।’
यस्तै उनले अर्थतन्त्रको नकारात्मक पक्षलाई न्यूनीकरण गर्ने कुरामा पनि थप जोड दिन आवश्यक रहेको बताए ।
अर्थतन्त्र तथा व्यापारका सूचकांक सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवं उत्साहित बनाउनुपर्नेमा उनकाे जाेड थियाे ।
छलफलमा उनले एडीबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्याएको सहयोगप्रति बैंकलाई धन्यवादसमेत व्यक्त गरे ।
उनले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताए ।