काठमाडौं । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा गरेको कडाइको प्रभाव देखिन थालेको छ । निरन्तर वृद्धि भइरहेको आयात माघमा आइपुग्दा पुसको तुलनामा १० प्रतिशत बिन्दुले घटेको छ । पुसमा पनि मंसिरको तुलनामा करिब ८ प्रतिशत बिन्दुले घटेको थियो ।
आयात उच्च भएर भुक्तानी सन्तुलनमा नै असर पर्न थालेपछि केन्द्रीय बैंकले विभिन्न वस्तुकाे आयातमा कडाइ गरेको थियो । पुस पहिलो साता राष्ट्र बैंकले निर्देशन जारी गर्दै वस्तु आयात गर्दा खोलिने प्रतितपत्र (एलसी) का लागि कतिपय वस्तुमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । विभिन्न विलासीताका वस्तु तथा चाँदी आयातमा समेत बैंकले कडाइ गरेको थियो ।
पुससम्ममा ९ खर्ब ९९ अर्ब रुपैयाँकाे वस्तु आयात भएको थियो भने माघसम्ममा ११ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
माघमा १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । पुसमा १ खर्ब ६ १ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यसै गरी मंसिरमा १ खर्ब ८८ अर्ब, कात्तिकमा १ खर्ब ७२ अर्ब, असोजमा र भदौ समान १ खर्ब ६४ र साउनमा १ खर्ब ५० अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात क्रमशः साउनमा ७५.६६ प्रतिशत, भदौमा ७५.८६ प्रतिशत, असोजमा ६३.७३ प्रतिशत, कात्तिकमा ६१.५७ प्रतिशत, मंसिरमा ५९.५५ प्रतिशत र पुसमा ५१.१३ प्रतिशतले बढेको छ । माघमा आएर आयातको वृद्धिदर ४२.७८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले पुस ५ गते १६ एजएस कोड भएका विभिन्न वस्तुहरूको एलसी खोल्दा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । पछिल्लो ६ महिनामा शोधनान्तरघाटा बढेर २४१ अर्ब रुपैयाँ पुगेपछि बैंकले माघ २६ गते थप ४७ एचएस कोड भएका वस्तुमा कडाइ गरेको छ । जसमा ४१ वस्तुका आइटममा शतप्रतिशत र ६ वस्तुको आइटममा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । माघमा गरेको नगद मार्जिन नतिजा आउन भने वैशाखसम्म कुर्नुपर्नेछ ।
पहिलो चरणमा राष्ट्र बैंकले सवारी साधान, चिनी र चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सुर्तिजन्य वस्तु, परफ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामान, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकलगायतका वस्तुमा नगद मार्जिन राखेर मात्रै एलसी खोल्ने पाउने व्यवस्था गरेको थियो ।
पछिल्लो निर्देशनमार्फत राष्ट्र बैंकले परफ्युम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्फु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुस, छाता, टेक्ने लौरोदेखि फिदर, सिमेन्ट, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्री, ढुंगाका सजावट सामग्री, माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेकाे हाे ।
यस्तै अन्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्, छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल, कफी, चिया, गाइबस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसन र एन्टिक सामानमा पनि शतप्रतिशत मार्जिन राख्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।