काठमाडौं । आन्तरिक उडानका एयरलाइन्सहरूले टिकट बिक्रीमा ‘कार्टेलिङ’ सुरु गरेका छन् । केही समय अघिदेखि एयरलाइन्स कम्पनीहरुबीच सहमति गर्दै २५०० रुपैयाँ भन्दा तल टिकट बिक्री नगर्ने सहमति गरेका थिए ।
पछिल्लो समय एयरलाइन्स कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । याे प्रतिस्पर्धाका कारण यात्रुहरूले सस्तो भाडामा हवाई यात्रा गर्न पाइरहेका थिए । तर, अहिले कम्पनीहरूले टिकटमा ‘कार्टेलिङ’ गर्दै सीमा तोकेका हुन् ।
राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले हवाई टिकटमा मोनोपोली भइरहेको बताउँदै सीमा तोक्नु गम्भीर गल्ती भएको बताए । उपभोक्ताको सस्तोमा यात्रा गर्ने अधिकार हनन हुनाका साथै कम्पनीहरुले पनि प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्ने अधिकार हनन भएको उनको भनाइ छ ।
एयरलाइन्सहरुले गरेको सहमति तत्कालै खारेज गर्नसमेत उनले माग गरे ।
हेलिकप्टरपछि आन्तरिक एयरलाइन्समा पनि भाडा नघटाउने सम्बन्धमा सहमति गरेका थिए । केही वर्षयता अस्वस्थ प्रतिस्पर्धामार्फत सस्तो भाडामा उडान भरिरहेका बेला एयरलाइन्स सञ्चालकहरुबीच गन्तव्य हेरेर २५०० रुपैयाँभन्दा तलमा नउडाउने सहमति भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘हामीले कुनै कार्टेलिङ गरेका हैनौं’, प्रवक्ता बर्तौलाले भने, ‘केही सीमा निर्धारण मात्र गरेका हौं । मान्नै पर्छ भन्ने छैन ।’
एयरलाइन्सबीच २५०० भन्दा कम भाडामा उडान नगर्ने भनिए पनि गन्तव्यअनुसार केही फेरबदल हुन सक्ने उनको भनाइ छ । कम्पनीबीच सहमति भएर पनि अहिले पोखराका लागि एकतर्फी २३०० देखि २५०० रुपैयाँसम्म टिकट बिक्री भइरहेको छ । यसअघि त्यहाँको एकतर्फी भाडा १५०० रुपैयाँसम्म झरेको थियो । गाडीको भन्दा सस्तो भाडामा जहाजको टिकट पाउने भएपछि धेरै यात्रुहरु त्यतातिर आकर्षित बनेका थिए ।
बुद्ध एयरका दिपेन्द्र कर्णले पनि कम्पनीहरुबीच मौखिक रुपमा कुराकानी भए पनि लिखित रुपमा कुनै सहमति नभएको बताए । यात्रुलाई सहज र सरल तरिकाले सेवा दिने सबैको उद्देश्य भएकोले ‘कार्टेलिङ’ भन्न नमिल्ने र त्यसो गर्ने सोच नरहेको बताए ।
जहाजको भाडा प्रतिस्पर्धात्मक रूपमा सस्तो हुँदा यात्रुहरुलाई सहज भइरहेको थियो । तर, एयरलाइन्स कम्पनीहरुले घाटाको उडान नगर्ने भन्दै सहमति भएको एक सञ्चालक बताउँछन् । जहाज भर्ने नाउँमा सस्तोमा टिकट बेच्दा इन्जिनको आवर सकिँदै गएको र मर्मत गर्दा करोडौं खर्च लाग्ने भएकाले पनि यो खालको सहमति भएको ती सञ्चालकले बताए ।
वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले सुगम क्षेत्रमा उडान गर्ने एयरलाइन्सबीच केही सहमति भएको हुन सक्ने बताए । यो विषयमा सघंले कुनै आधिकारिक निर्णय नगरेको बताउँदै कम्पनीहरुबीच आपसी सहमति हुन सक्ने उनी बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले हवाई भाडाको सीमा निर्धारणसम्बन्धी कुनै जानकारी नआएको बताए । ‘अहिलेसम्म कुनै जानकारी आएको छैन । यदि सीमा तोकेको भए सच्याउनुपर्छ ।’
कम्पनीहरूबीचको अस्वस्थ्य प्रतिस्पर्धाले यात्रुहरूलाई सहज भए पनि सञ्चालकहरू भने समस्यामा पर्दै गएको गुनासो बढिरहेको छ । हाल सुगम क्षेत्रमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, शौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उडान भर्दै आएका छन् ।