काठमाडाैं। जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन। यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ।
पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दुरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त सङ्ग्र्रहालय पनि हो। जहाँ ढुंगाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन्।
काठमाडौंबाट घुम्न गएका शिक्षक छवि थापाले आँखै अगाडिको सुन्दर हिमाल र गुरुङ समुदायको आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताए।
“बर्खायाम घुम्नका लागि उपयुक्त होइन भन्दाभन्दै पनि हामी घान्द्रुक आइपुगेका थियौँ, यहाँ आइसकेपछिको आनन्द बेग्लै पायौँ, बादलको घुम्टोभित्र लुकेको हिमालसँगै स्थानीयको आत्मियताले हामीलाई लोभ्यायो”, उनले भने।
पतिसँगै घुम्न आएकी बेसींसहरकी अनुजा न्यौपानेले यहाँको शान्त वातावरण र सुन्दर हिमालका दृश्यले यहाँ आइपुग्दाको थकान मेटाइदिएको अनुभव सुनाइन्। “घान्द्रुकका बारेमा जति सुनिएको थियो, त्योभन्दा धेरै पाएँ, यहाँको सुन्दरता र आतिथ्यता सधैभरी सम्झनामा रहनेछ”, उनले भनिन्।
पूर्वअध्यक्ष अधिकारीले गाउँमा निर्माण भएको गुरुङ सङ्ग्रहालयले गुरुङ जातिको परम्परागत जीवनशैली, प्रयोग गर्ने भाँडाकुँडा, हतियार र वेशभूषाको जीवन्त प्रदर्शनी गरेको बताए। “हामीले प्रवर्द्धन गर्ने भनेको यही मौलिकता र आत्मीयपन हो, जसले पर्यटकलाई पटक–पटक यहाँ आउन प्रेरित गर्छ।”
यहाँका अधिकांश घरबास (होमस्टे) महिलाले सञ्चालन गरेका छन्। यसले महिलालाई आर्थिक सशक्तीकरणमा पनि टेवा पुर्याएको पूर्वअध्यक्ष अधिकारीको भनाइ छ।