काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पूर्वगभर्नरहरूले बजार चलायमान बनाउने नीति ल्याउन सुझाएका छन्। आगामी आर्थिक वर्षका लागि २४औँ मौद्रिक नीति निर्माणको अन्तिम अवस्थामा ६ जना पूर्वगभर्नरहरूले वर्तमान गभर्नर डा. पौडेललाई उक्त सुझाव दिएका हुन्।
नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति तर्जुमाका सन्दर्भमा आयोजित पूर्वगभर्नरहरूसँगको छलफल कार्यक्रम राखेर गभर्नर डा. पौडेलले पूर्वगभर्नरहरूसँग सुझाव मागेका थिए। बुधबार काठमाडौंमा आयोजित सुझाव कार्यक्रममा ६ जना पूर्वगभर्नरहरूले नयाँ गभर्नर डा. पौडेललाई बजारलाई थप चलायमान बनाउने किसिमको मौद्रिक नीति ल्याउन सुझाव दिए।
छलफलमा सहभागी पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘बाह्य क्षेत्र मजबुत भएको छ। आन्तरिक क्षेत्रसमेत मजबुत बनाउने र बजार चलायमान बनाउनु पर्यो। चलायमान गराउनका लागि राष्ट्र बैंकले आफ्नो तरिकाले मौद्रिक नीति निर्माण गर्नु पर्यो भनेर सबैको एउटै आवाज थियो।’
उनका अनुसार अहिले मुद्रास्फीति धेरै तल आएको र समग्र वित्तीय स्थिति राम्रो देखिएको छ। यस्तो अवस्थामा बजारमा थुप्रिएको पैसालाई कसरी लगानी गर्ने? र आर्थिक वृद्धि दरलाई ६ प्रतिशतसम्म कसरी पुर्याउने? भन्ने विषयलाई सम्बोधन गर्ने मौद्रिक नीति निर्माण गर्नुपर्नेमा पूर्वगभर्नरहरूको जोड थियो।
पूर्वगभर्नरहरूले राष्ट्र बैंकसँग बजार चलायमान बनाउने सबै उपकरणहरू (टुल्स) रहेको बताउँदै, बजारको अवस्था र समयसापेक्षता हेरेर मौद्रिक उपकरणहरूको विवेकपूर्ण प्रयोग गर्नुपर्नेमा जोड दिए।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले नयाँ गभर्नर डा. पौडेललाई हिजोको दिनमा पनि राम्रो चलेको वित्तीय क्षेत्रलाई अहिले पनि सोहीअनुसार अगाडि बढाउन सुझाव दिएको बुझिएको छ।
छलफलमा अधिकारीसँगै दीपेन्द्र पुरुष ढकाल, गणेश बहादुर थापा र भेष बहादुर थापालगायतका पूर्वगभर्नर उपस्थित थिए। यद्यपि, २४औँ मौद्रिक नीतिमा सुझाव दिनका लागि पूर्वगभर्नरहरू दीपेन्द्र बहादुर क्षेत्री, डा. युवराज खतिवडा र विजयनाथ भट्टराई अनुपस्थित रहे।
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल बुधबार संघीय संसदअन्तर्गतको अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयक छलफलमा सहभागी भई लगत्तै पूर्वगभर्नरहरूसँगको छलफलमा पुगेका थिए।