नेपालको पर्यटकीय गन्तव्यबारे सोधीखोजी हुँदा हामी जोसुकैको सहज उत्तर हुने गर्छ– पोखरा। पर्यटन राजधानीसमेत रहेको पोखरापछि चितवन पनि जोडिन्छ। त्यसबाहेक पदयात्राका लागि खुम्बुलगायत विभिन्न हिमाली क्षेत्रको नाम अग्रपंक्तिमा आउँछ।

तर, यत्ति मात्रै हुन् नेपालका पर्यटकीय गन्तव्य? पक्कै पनि होइनन्। नेपालका हरेक क्षेत्र पर्यटकीय सम्भावनायुक्त छन् भन्दा फरक पर्दैन। यद्यपि हामीले सीमित गन्तव्यलाई मात्रै प्रवर्द्धन गरिरहँदा धेरैका लागि यी गन्तव्य मात्रै पर्यटनका लागि सही छन् भन्ने लाग्छ।

नेपालका कैयौं यस्ता क्षेत्र पनि छन्, जुन पर्यटकीय गन्तव्यका रुपमा छलफल तथा बहसको विषय बन्न सकेका छैनन्। प्रचुर पर्यटकीय सम्भावना हुँदाहुँदै पनि आवश्यक प्रचार–प्रसार अभावमा ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले केही वर्षयता स्पार्क कारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यात्रुको सहज यात्राका लागि सवारीसाधन र चालक सेवा उपलब्ध गराउँदै आएको कम्पनीले ओझेल परेका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्दै आएको छ।

कम्पनीका अध्यक्ष रोशन घिमिरे कम्पनी फरक व्यवसायमा भए पनि आफ्नो रुचि र मुलुकको आवश्यकतालाई ध्यानमा राख्दै पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्दै आएको बताउँछन्।

‘नेपालको पर्यटन बजार निकै ठूलो छ। सम्भावना भएका कैयौं क्षेत्र अझै पनि ओझेलमै परेका छन्। हामी सबै नेपालीको सम्बन्ध कुनै न कुनै रूपमा पर्यटनसँग जोडिएको अवस्था छ।

तर, अहिलेको पर्यटन बजार सीमित भयो भन्ने लाग्छ। केही निश्चित गन्तव्यको मात्रै प्रचार–प्रसार भइरहेको देखेपछि ओझेल परेका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरुआत भएको हो’, उनले भने।

स्पार्क कारले हालसम्म तेस्रो संस्करणको स्पार्क एड्भेन्चर सम्पन्न गरिसकेको छ। कम्पनीले सन् २०२२ मा पहिलो संस्करणको स्पार्क एड्भेन्चर लमजुङको भुजुङमा आयोजना गरेको थियो।
तत्कालीन समय क्व्होलासोंथार गाउँपालिका–४ भुजुङमा हनी हन्टिङ कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनील पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार विपिन कार्की, वर्षा सिवाकोटी, मधुसूदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. रञ्जित बरालसहितको टिम भुजुङ पुगेको थियो। उक्त कार्यक्रमपछि भुजुङ जाने आन्तरिक पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ।

काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले त्यहाँ स्थानीय संस्कृति अवलोकन, भीर मह काढ्ने स्थल अवलोकन र होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्किएको थियो।

लमजुङको भुजुङमा करिब ४ सय घर एकै ठाउँ छन्। पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।

कम्पनीले दोस्रो संस्करणको स्पार्क एड्भेन्चर दोलखा र रामेछापको सिमानामा पर्ने सैलुङमा आयोजना गरेको थियो। राजधानी काठमाडौंबाट नजिक भएको र अत्यन्तै सुन्दर सैलुङमा उक्त कार्यक्रमपछि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम उल्लेख्य बढेको छ।

त्यति मात्रै होइन, अहिले उक्त स्थानमा पर्यटकीय पूर्वाधारमा लगानी गर्ने क्रम पनि बाक्लिएको छ।
यात्रुको सहज यात्राका लागि सवारीसाधन र चालक सेवा उपलब्ध गराउँदै आएको कम्पनीले ओझेल परेका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्दै आएको अध्यक्ष रोशन घिमिरे बताउँछन्।
अहिले हरेक दिनजसो सैलुङका एक सय थुम्कामा पुगेर तस्बिर लिनेहरू बग्रेल्ती भेटिन्छन्। एउटा कम्पनीले पर्यटन प्रवर्द्धनका लागि लिएको अग्रसरताले अहिले सैलुङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। यसले उक्त क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै स्थानीयको आर्थिक स्तर उकास्न सहयोग गरेको छ।

कम्पनीले तेस्रो संस्करण गत वैशाखमा सोलुखुम्बुको गौरीटापमा आयोजना गरेको थियो। सोलुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिका सीमा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २ सय जना त्यहाँ पुगेका थिए।

धार्मिक तथा पर्यटकीय महत्त्वको गौरीटाप सगरमाथालगायत आठ हजारभन्दा अग्ला ६ वटा हिमाललाई आँखै अगाडि हेर्न पाउने स्थान पनि हो।


‘गेट वे टु एभरेस्ट’ थिममा आयोजना भएको कार्यक्रममा नायक राजेश हमाल, अभिनेता तथा क्याप्टेन विजय लामा, गायिका आनी छोइङ डोल्मा, अभिनेत्री केकी अधिकारी, सञ्चारकर्मी नरेश भट्टराई, हास्य कलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र्र तथा कवि विप्लव प्रतीक र नायट्यकर्मी अनुप बरालको उपस्थिति थियो।

त्यति मात्रै होइन, कम्पनीले २०८१ असारको धान दिवस अवसरमा धान रोपाइँ तथा गोरु दौड प्रतियोगिता आयोजना गरेको थियो। उक्त कार्यक्रममा करिब २ हजार बढीको सहभागिता रहेको कम्पनीको भनाइ छ।
कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम सुन्दरा बहुउद्देश्यीय सहकारी संस्था र ताँदी गाउँपालिकाको सहयोगमा आयोजना गरिएको थियो।
अभिनेता हमाल आफू स्पार्क एड्भेन्चरको पहिलो र तेस्रो संस्करणमा सहभागी भएको अनुभवका आधारमा यस प्रकारको कार्यक्रम पर्यटन प्रवद्र्धनका लागि निकै प्रभावकारी हुने बताउँछन्। ‘स्पार्क कारसँग म सुरुदेखि नै जोडिएको छु। कम्पनीले पर्यटन प्रवद्र्धनका लागि लिएको अग्रसरता निकै राम्रो लाग्यो। यसबाट प्रभावित पनि छु’, हमालले भने, ‘यो कार्यक्रमले नयाँ गन्तव्य प्रचार–प्रसार गराउन ठूलो भूमिका खेल्छ।’