काठमाडौं । फर्निचर तथा फर्निसिङको महामेला भदौ २५ गतेबाट काठमाडौं हुने भएको छ । फर्निचर तथा फर्निसिङ एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयाेजकले जनाएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पूरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए ।
‘विगत वर्षमा जस्तै यस पटक मेलाको सबै तयारी पुरा भएको छ, परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदा हामीलाई खुसी लागेको छ ,संघका अध्यक्ष प्रधानले भने ।
बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।
यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ ।
फर्नेक्स २०१९ को शीर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् ।
एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनले सहयोग गरेका छन् ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए ।
नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए ।
प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाइ छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको जानकारी दिए ।
फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाइ थियो । ५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्नि्सिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।