काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगरतर्फको कार्यकारिणी सदस्य पदमा व्यवसायी सुदर्शन कार्कीले उम्मेदवारी दिएका छन्। महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका लागि उनले बुधबार उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन चैत २९ र ३० गते हुँदैछ।
कार्की यसअघि महासंघमा एक कार्यकाल कार्यकारिणी सदस्यको जिम्मेवारी सम्हालिसकेका अनुभवी व्यवसायी हुन्। उनी दोलखा उद्योग वाणिज्य संघ तथा जिरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्।
दोलखाको जिरीबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका कार्कीले हाल सदरमुकाम चरिकोटमा पेट्रोल पम्प, होटल लगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन्। जिल्लामै बसेर व्यवसाय सञ्चालन गर्दै आएका उनी स्थानीय स्तरका उद्योगी–व्यवसायीहरूले भोगिरहेका चुनौतीहरूसँग प्रत्यक्ष रूपमा परिचित छन्।
जिल्लामा व्यवसाय सञ्चालन गर्दा नीतिगत अस्थिरता, पटक–पटक परिवर्तन हुने कर तथा राजस्व संरचना, झन्झटिलो अनुमति प्रक्रिया, पूर्वाधारको अभाव, बैंकिङ पहुँचको सीमितता तथा स्थानीय र संघीय तहबीचको समन्वय अभावजस्ता समस्याहरूले व्यवसाय सञ्चालन थप कठिन हुने गरेको उनको अनुभव छ। यस्ता कारणले लगानीको वातावरण अनिश्चित बन्नुका साथै साना तथा मझौला व्यवसायीहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन्।
निजी क्षेत्रले सामना गरिरहेका यिनै समस्या, विशेषगरी सरकारका अस्पष्ट नीति तथा प्रक्रियाका कारण जिल्लाका व्यवसायीहरूले झेल्नुपरेका कठिनाइबारे आफू जानकार रहेको कार्कीको भनाइ छ।
दोलखाका व्यवसायीहरूको समस्या देशभरका जिल्ला तथा नगरका व्यवसायीहरूको साझा समस्या भएको उनको बुझाइ छ। त्यसैले महासंघको कार्यकारिणी सदस्यका रूपमा निर्वाचित भए सरकारसँग प्रभावकारी रूपमा समन्वय गर्दै ती समस्याहरू समाधान गर्न पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले बताएका छन्।