काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेड विरुद्ध पूँजीगत लाभ तथा कर छली गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर छली गरेको तथा सोको बिगो दावी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। स्वामित्व बिक्री गर्दा पूँजीगत लाभकर छलेको आरोप विभागले लगाएको छ ।
विभागले बोटलर्स नेपाल विरुद्ध पूँजीगत लाभकर छली गरेको आशंकामा विभागले अनुसन्धान गर्दै आएको थियो । विभागले बोटलर्स नेपालसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
बोटलर्समा अधिकांश सेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोका कोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबर २४ मा कोका कोला साब्कोले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको कारणबाट वोटलर्स नेपालमा रहेको निहित सेयर स्वामित्वमा परिवर्तन भै सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको थियो ।
त्यसबेला कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपालको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८८३ रुपैयाँ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरीद मुल्य ५३६ रुपैयाँलाई लागतको रुपमा घटाउँदा हुन आउने रकम ३ हजार ३४७ रुपैयाा प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।
सोहि आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको सेयर संख्या १४ लाख ८४ हजार ३०१ को बिक्रीवापत ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ रुपैयाँ पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २ बमोजिम २५ प्रतिशतका दरले १ अर्ब २४ करोड १९ लाख ८८ हजार रहेकाे छ ।
यस्तै ऐनको दफा वमोजिमको शुल्क ०.१ प्रतिशतका दरले हुने ३ करोड ४१ लाख दफा ११८ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने १ अर्ब १० करोड २२ लाख र शुल्क १२ लाख ४१ हजार ९८८ समेत कुल विगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रुपैयाँ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २को उपदफा (छ१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको दाबी विभागको छ ।