काठमाडौँ। प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले आयोजना गरिएको सनवे इनोभेसन फेस्टमा कृत्रिम बुद्धिमता एआई तथा रोबोटिक्समा सहभागीहरुको चासो बढेको छ। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरुलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ काठमाडौंमा आयोजित कार्यक्रममा एआई प्रविधि, रोबोटिक्स तथा ड्रोनमा अवलोकनकर्ताको भिड लागेको थियो।
कार्यक्रममा सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रुपमा अवलोकन गर्नुका साथै त्यसको प्रयोगात्मक अभ्याससमेत गरेका थिए। इनोभेसन फेस्टमा कृत्रिम बौद्धिमता एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटिएकाले एकैथलोबाट सभागिहरुले लाभ लिएको सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिएका छन्।
सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाएका थिए। सनवेले सूचना प्रविधिका विज्ञहरुको सहयोगमा नेपाल बार एशोसिएसन अन्तर्गतका कानुन व्यवसायी तथा आर्थिक महिला पत्रकार संघ अन्तर्गतका पत्रकार महिलाहरुलाई एआई प्रविधि र यसको उपयोगबारे प्रशिक्षण दिएको थियो।
‘एआई इन जर्नालिजम’ तथा ‘फिजिकल एआई’ विषयमा आयोजित छलफलमा सञ्चार, प्रविधि तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले एआईले पत्रकारिता, कानुन, उद्योग तथा दैनिक जीवनमा ल्याइरहेको परिवर्तनबारे आफ्ना अनुभव आदानप्रदान गरेका थिए।
सो अवसरमा सहभागीहरुले आधुनिक एआई उपकरणको प्रयोग गर्दै छिटो, प्रभावकारी तथा सिर्जनात्मक रुपमा सफ्टवेयर विकास गर्ने सीप सिक्ने अवसर पाएको अध्यक्ष श्रेष्ठको भनाई छ।
सनवे इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटेको थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे लगायतले अवको युग सुचना प्रविधिको युग भएकाले सोहीअनुसारको नीति, लगानी र खोज अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
विद्यार्थीहरुको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टुडेन्ट इनोभेसन शोकेस’ आयोजना गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न सिर्जनशील कार्य तथा एप्सहरुलाई उत्कृष्टताका आधारमा पुरस्कार र समान्न गरिएको थियो। यसले विद्यार्थीहरुलाई आफ्ना अनुसन्धान र परियोजनालाई उद्योग, विज्ञ तथा अन्य सहभागीमाझ प्रस्तुत गर्ने अवसर प्रदान गरेको सनवे कलेजका प्रिन्सिपल कुशल रेग्मीले बताए।
त्यस्तै सनवे इनोभेशन फेस्टमा विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सक्रसमेत सञ्चालन गरिएको थियो। कार्यत्रमका सहभागीहरूले उद्योगका विशेषज्ञहरुसाग प्रत्यक्ष संवाद गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकास सम्बन्धी उपयोगी सुझाव प्राप्त गर्ने अवसर पाएका थिए।