काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको भन्दै राष्ट्रको नीतिलाई समर्थन गरेका छन् । आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित हुने बताएका छन् । यद्यपि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिएका छन् ।
‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं’, उनले भने , ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सिर्जना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’
भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने विश्वास लिएको बताएका छन । त्यस्तै वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उनले निर्देशन दिए ।
भन्सार कार्यालयहरुमा प्रयोग हुने भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने बताए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई उनले निर्देशन दिए । माघ मसान्तसम्मको लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुसी व्यक्त गरे ।
भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाईका बाबजुत ३ खर्ब ८ अर्ब राजस्व संकलन भएको बताए । यो गत वर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।