काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र समस्यामा परेको बताएका छन् । अर्थतन्त्रका चारवटै क्षेत्र ऋणात्मक हुँदा समेत सरकारको ध्यान त्यसतर्फ नगएको उनले आरोप लगाएका छन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रममा उने यस्तो बताएका हुन् ।
८ महिनामा ४० प्रतिशत हाराहारी मात्रै खर्च भएको तथा पुँजीगत खर्च हुन नसकेको उनले बताए । कमिसन नदिएको आधारमा काम सम्पन्न हुँदासमेत आयोजनालाई रकम भुक्तानी नदिएको आरोप उनले लगाए । राजस्व परिचालन पनि सन्तोषजनक नभएको भन्दै उनले लक्ष्यअनुसार नउठ्ने ठोकुवासमेत गरे ।
‘पिकमा कारोबार हुने समयमा राजस्व संकलन १० प्रतिशत कम उठेको छ । अब राजस्व उठ्ने मुख्य समय असार होला ? तर, अवस्था यस्तै रहे त्यो वेला पनि लक्ष्यअनुसार संकलन हुनेवाला छैन’, उनले भने ।
प्रतिवद्धतानुसार वैदेशिक साहयता नआएको समेत ओलीले बताएका छन् । बैंकहरुमा तरलताको चरम अभाव रहेको र ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए । मौद्रिक नीति र वित्त नीतिबीच कुनै पनि तालमेल नभएको उनको दाबी छ। राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच तालमेलको अवस्था नआउँदा यस्तो समस्या आएको उनले बताए ।
पछिल्लो समय बैंकको ब्याजदर उच्च छ र लगानीको लागि रकम अभावले बैंकहरु आफै धरमरको अवस्थामा पुगेको उनले बताए । बैंकले नचाहिदो रुपमा नाफा लिइरहेको समेत आरोप लगाए ।
सरकारको खर्च नगर्ने तर बजारबाट ८९.५ अर्ब आन्तरिक ऋण उठाउँदा बजारमा तरलता अभाव देखिएको उनको भनाइ छ । आफूले सरकार छोड्दा ४ प्रतिशतको मूल्यवृद्धि अहिले दोब्बर भएको उनको भनाइ छ । विदेशी विनिमयको सञ्चिति ११ महिनाबाट ६ महिनामा झरेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले नेपालमा विदेशी विनिमयको अपचलन हुँदासम सरकारले नियन्त्रण गर्न चासो नदिएको बताए ।
‘सरकारको उपस्थिति यस्तो कमजोर देखिन्छ । खुला सडकमा विदेशी मुद्राको अपचलन भइरहेको छ । न्युरोड र ठमेलमा विदेशी मुद्राको कारोबार भइरहेको सुन्छु’, उनले भने । विप्रेषणमा आप्रवाह चुहावटमा समेत सरकारले ध्यान नदिएको उनले बताए ।
‘हुण्डी र अनौपचारिक माध्यमबाट हुने कारोबार नियन्त्रण गर्नुको सट्टा अर्थमन्त्रीलाई विद्युतीय माध्यमबाट चुहावट नियन्त्रण गर्नमा ध्यान छ । यसले सरकार नै अनौपचारिक अर्थतन्त्र विस्तार गर्न लागेको जस्तो देखिन्छ’,उनले भने ।
सरकारले जे पनि आयात गर्न दिएकाले ब्यापारघाटा बढेको उनले बताए । विलासी खर्चमा नियन्त्रणमा ध्यान नदिँदा ब्यापारघाटा बढेको उनको भनाई छ । ‘हामीले व्यापार होइन आयातमा मात्रै गरिरहेको छौं’, ओलीले भने ।
अर्थतन्त्र खराव नभएको भए अन्तर्राष्ट्रिय मुद्राकोषबाट सरकारले किन सुटुक्क ऋण लिएको भन्दै उनले प्रश्न गरेका छन् । यसैगरी चोरी पैठारी, आयातमा न्यूनविजकीकरण बढेको, शोधनान्तरस्थित १.२३ अर्ब बचतबाट २४७ अर्ब घाटामा गएको उनले बताए ।
‘अर्थतन्त्रको भयावह अवस्थामा छौं । निजीक्षेत्रले यसले प्रतिकूलको मार खेपिरहेको छ । हाम्रो अर्थतन्त्रमा वैचारिक रुपमा हस्तक्षेप बढाउनुपर्ने अवस्थमा पुर्याएको छ’, उनले भने ‘यो सरकारले जुरो हल्लाएर जुन स्वेतपत्र जारी गरेको थियो । यथार्थचित्र सहितको स्वेतपत्र जारी गर्नुहोस् । यसलाई कसरी सम्बाेधन गर्ने कुरा पनि स्पस्ट पार्नुहोस् । हामी बहस गर्न तयार छौं ।’