काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बरालको नेतृत्वमा बजेट लेखन कमिटी गठन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
उक्त कमिटीमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख रमेशकुमार केसी, अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्याल लगायतका सहसचिवहरु मस्यौदा टोलीमा रहेको स्रोतको भनाइ छ ।
बजेट निर्माणको मुख्य जिम्मेवारी बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको भए पनि बराललाई बजेट लेखन टोलीको नेतृत्व दिइएको बताइएको छ ।
उक्त टोलीसहित बजेट लेखनमा अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्वसचिव कृष्णहरि पुष्कर तथा अर्थमन्त्रीका आर्थिक सल्लाहकार लगायतको संलग्नता रहनेछ ।
राष्ट्रिय योजना आयोगले चैत २५ गते आगामी आर्थिक वर्षसहित मध्यकालीन खर्च संरचना पठाएपछि प्री–बजेट छलफल सुरु हुनेछ । साथै आर्थिक सर्वेक्षण, रातो पुस्तिका, सेतो पुस्तिका, पहेंलो पुस्तिका, आर्थिक विनियोजन विधेयक, राष्ट्रको ऋण उठाउने विधेयक, आर्थिक विधेयक लगायतका पुस्तिका निर्माण कार्य अघि बढ्नेछ ।