काठमाडौं । लामो समयदेखि संकटबाट गुज्रिरहेको अर्थतन्त्र जोगाइदिन उद्योगी व्यवसायीले नेपाल कांग्रेसका महामन्त्री गगन थापासँग आग्रह गरेका छन् । काठमाडौंको होटल याक एन्ड यतीमा भएको छलफलमा उद्योगीहरूले थापासँग आफ्ना पीडा पोखेका हुन् ।
सरकारले गलत नीति अंगीकार गरेकाले अर्थतन्त्र गम्भीर समस्यामा परेको भन्दै उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अहिलेको अर्थतन्त्रको वास्तविकता बताइदिनसमेत आग्रह गरेका हुन् ।

गत असोजदेखि ऋणीले पर्याप्त मात्रामा ऋण पाउन सकेका छैनन् । बैंकको ब्याज दोहोरो अंकमा पुगेको छ । रेमिट्यान्स निरन्तर घट्दो अवस्थामा रहेकाले अर्थतन्त्रको बाह्य क्षेत्र नराम्ररी बिग्रिएको र यसलाई सुधार्न सरकारले तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने कामका बारेमा पनि थापालाई सुझाएका थिए ।
पर्यटनबाट हुने आय करिब ८० प्रतिशतले घट्यो। त्यो भनेको बार्षिक करिब ५० देखि ६० अर्ब रुपैया जुन पर्यटन क्षेत्रबाट आउनुपर्थ्यो त्यो आएन वैदेशिक लगानीमा केहि वृद्धि भएपनि १६ अर्ब रुपैयामात्र आएको छ । रकम भित्रिने स्रोत संकुचित हुने तर बाहिरिने माग बढिरहेका कारण माघमा केन्द्रीय बैंकले एकै पटक दुरगामी असर पर्ने नीति लिँदा बजारमा लगानीयोग्य रकमको चरम अभाव भएको र त्यसैका कारण ब्याजदर बढेको थापासँग उद्योगीहरुले ब्रिफिङ गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले धारणा प्रस्तुत गर्दै १० ठूला संस्थागत निक्षेपकर्ताहरुलाई बैंकमा निक्षेप राख्ने नभइ उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्ने गरि नीतिगत व्यवस्था गर्न सुझाएका छन । निक्षेपमा ब्याज बढाउदा पनि बैकिङ माध्यममा पछिल्लो समय बचत बढ़न सकेको छैन् । यसले बैंकहरुको पनि लागत बढ्को उनले जानकारी दिए ।
यस्तै अहिले पुनर्कर्जामा बढाइएको ब्याजदर घटाउन उनले माग गरे । नेपाल राष्ट्र बैंकले दुई देखि तीन वर्षे अवधिको कर्जा बैंक वित्तीय संस्थालाई उपलब्ध गराएमा अर्थतन्त्रमा थप रकम प्रवाह गर्नुका साथै सरकारको खातामा थन्किएको रकम बाहिर ल्याउने पुर्नकर्जा लगायतका यी उपाय अबलम्बन गर्न उनको सुझाव थियो ।

यसैगरी तरलता अभाव, ब्याजदर वृद्धि, कर्जामा भएको कडाइ लगायतका विषयमा समेत आफ्नो भनाई राखेको उनले बताए । यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले प्रत्यक्ष वैदेशिक लगानीका विभिन्न क्षेत्रहरुलाई खुला गर्नुपर्ने सुझाव दिएको बताए ।
‘बढ्दो आयातका कारण विदेशी मुद्राको सञ्चितिमा परेको दबाब आयात रोकेर नभई विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्र्याएर कम गर्नुपर्छ । प्रत्यक्ष वैदेशिक लगानीका लागि विभिन्न क्षेत्रमा लगानी खुला गर्नुपर्छ । बढ्दो तरलता अभाव र कर्जाको ब्याजदर वृद्धि रोक्नका लागि सरकात्मक प्रयास गर्नुपर्ने मेरो सुझाव थियो’ उनले भने ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको विप्रेषण आप्रवाहलाई सहजीकरण र सरलीकरण गर्नका लागि सुझाव दिएको बताए । आयातलाई रोक्ने भन्दा पनि यसलाई व्यवस्थित गर्दै आन्तरिक उत्पादन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा आफुले जोड दिएको उनको भनाई छ । ‘रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने, आयातमा आधारित अर्थतन्त्र भएकाले यसलाई रोक्ने भन्दा पनि व्यवस्थित गर्दै आन्तरिक उत्पादन बढाउनका लागि सरकारले भुमिका खेल्नुपर्नेमा सुझाव रह्यो’ मल्लले भने ।

थापासँगको छलफल कार्यक्रममा उद्योगी शशिकान्त अग्रवालले नेपाली कामदारलाई दक्ष बनाएर मात्रै विदेश पठाउने व्यवस्था मिलाउन सुझाव दिएका छन् । 'विश्वमा एउटा मात्रै मुलुक नेपाल हो, जहाँ पुँजीगत खर्च गर्न सकस हुन्छ । यो प्रवृत्तिलाई अन्त्य गर्न पनि कांग्रेसले विशेष पहल गर्नुपर्छ । थापालाई अग्रवालले सुझाव दिएका छन् ।
नेपालमा अहिले २५ हजार भन्दा बढी भारु ओसार पसार गर्न नपाइने व्यवस्था छ । त्यो सीमालाई बढाएर २ लाख रुपैयाँ पुर्याउन थापालाई सरकारसँग लविङ गरिदिन पनि आग्रह गरेका छन् ।
देश गम्भीर आर्थिक संकटतिर धकेलिँदै गएको छ । यस्तो अवस्थामा थापालाई मध्यस्तकर्ताको भूमिका निर्वाह गरेर अर्थतन्त्रलाई सही दिशामा ल्याउन सुझाएका थिए ।
एक दर्जन व्यवसायीबीच थापाले उद्योगीहरुले दिएका सुझावलाई चरणवद्ध रुपमा कार्यान्वयन गरेर लैजाने बताए । तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामलाई प्राथमिकता छुट्याउने र सोही अनुसार सरकारलाई काम गर्नका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
‘तपाईहरुले दिएका कतिपय सुझाव बजेटबाट कार्यान्यनमा आउँछन्,’ महामन्त्री थापाले उद्योगीसामू भने, ‘अर्थतन्त्रलाई संकटबाट माथि ल्याउन गरिहाल्नुपर्ने काम तत्काल गराउन आफू लागि पर्छु ।