काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका विस्तृत विषयका साथै बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको थियो ।
प्रधानमन्त्रीले साउदी भिजन २०३० को सफलताको शुभकामना व्यक्त गर्दै नेपाली आप्रवासी कामदारको हित र दुई देशबीचको आर्थिक साझेदारी एवं सहयोगलाई थप सुदृढ गर्ने उपायबारे छलफल गरेका थिए ।
द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने नेपाल सरकारको चाहना अभिव्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न आग्रह गरेका थिए । उनले व्यापार, वाणिज्य र पर्यटन प्रवद्र्धनमा जोड दिएका थिए ।
कोभिड–१९ को महामारीका बेला साउदी सरकारले आफ्ना नागरिक सरह नेपालीप्रति देखाएको सद्भाव, औषधोपचार एवं खोपको व्यवस्था गरेकामा प्रधानमन्त्रीले आभार व्यक्त गरेका थिए। साउदी अरबबाट नेपाललाई प्राप्त विकास सहयोगले सकारात्मक परिवर्तन ल्याएको बताउँदै प्रधानमन्त्री देउवाले पर्यटन, भौतिक पूर्वाधार निर्माणलगायत तुलनात्मक लाभका क्षेत्रमा निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानीका निम्ति अभिपे्ररित गर्न विदेशमन्त्री साउदसमक्ष आग्रह गरेका थिए ।
नेपाली कामदारको हकहितको रक्षालगायत विदेशी कामदारलाई उपयुक्त र द्रुत कानूनी संरक्षणको अभावमा साउदीमा नेपालीले झेल्नुपरेका समस्याको उचित व्यवस्थापनका निम्ति शीघ्र श्रम सम्झौता गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।
प्रधानमन्त्रीको आग्रहलाई सकारात्मकरूपमा लिँदै साउदी राजकुमारले नेपालीको कामप्रतिको समर्पण, निष्ठा, इमान्दारीको मुक्तकण्ठले प्रशंसा गर्दै साउदी र नेपालीबीचको जनस्तरको सम्बन्धलाई नेपाली श्रमिकले सुदृढ एवं सुमधुर तुल्याएका बताएका थिए ।
आजै दुवै देशका परराष्ट्रमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो । दुई परराष्ट्रमन्त्रीले सहयोगात्मक द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका बारेमा छलफल गर्दै वैदेशिक रोजगारी, नेपाली आप्रवासी कामदारको हित, हजयात्रीको सङ्ख्या वृद्धि, सम्बन्ध सुदृढीकरणलगायत पारस्परिक लाभका क्षेत्रमा सहयोगका सम्भावनाहरू खोजिनुपर्नेमा जोड दिएका थिए । आर्थिक साझेदारीका साथै बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्न उहाँहरूबीच सहमति भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि परराष्ट्रमन्त्रीद्वयले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । आपसी सम्झौता भएसँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न सहज भएको छ । उक्त सम्झौता द्विपक्षीय सहमतिमा कार्यान्वयन गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र साउदी अरेबियाबीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ ।
दुवै राष्ट्रले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति अटल प्रतिबद्धता र निष्ठा व्यक्त गरेका छन् र मानव जातिको साझा हितका लागि उक्त विश्व संस्थालगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्दै आएका छन् ।
एक दशकअघि साउदी अरबमा नेपाली कामदारले रोजगारीका अवसर पाएपछि दुई देशका जनताबीचको सम्बन्ध विस्तारै बढ्दै गएको छ । चारलाखभन्दा बढी नेपालीले साउदी अरबमा श्रम गरिरहेको वर्तमान सन्दर्भमा भएको विदेशमन्त्रीको भ्रमणले नेपाली आप्रवासी कामदारका सेवासुविधा र अवसरमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।
नेपालले विकासका लागि साउदी कोषबाट मस्र्याङ्दी जलविद्युत् आयोजनालगायत विभिन्न जलविद्युत् आयोजनाका लागि ऋण सहयोग प्राप्त गरेको छ भने पूर्व–पश्चिम राजमार्ग निर्माणमा पनि कोषले उल्लेख्य योगदान गरेको छ । बागमती सिँचाइ आयोजनामा पनि साउदी अरबको सहयोग रहेको छ ।
श्रीलङ्काबाट निजी विमानमा सोमबार साँझ यहाँ आएका विदेशमन्त्री आजै बङ्गलादेशको ढाकातर्फ प्रस्थान गरे। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले बिदाई गरेका थिए ।