काठमाडौं । रङ नै रङको पर्व होलीको पूर्वसन्ध्यामा छौं हामी । बजारमा चहलपहल निकै बढेको छ । कोरोनाका कारण विगत दुई वर्ष खुलेर होली मनाउन नपाएकाहरु यसपटक राम्रैसँग मनाउने तयारीमा जुटेका छन् ।
होलीका लागि रङ, पिचकारीलगायतका सामान किनमेल गर्नेको बजारमा भीड लागिरहेको छ । अझ विभिन्न स्लोगन लेखिएका टिसर्ट राखिएका छन् । कतिपय टिसर्टमा भारतीय हिरोहरुका तस्बिर प्रिन्ट गरिएका छन् । यस्तै सडकका फुटपाथदेखि किरानापसलसम्म विभिन्न थरीका रङहरु बिक्रीका लागि राखिएका छन् । जुन सबै आयातित हुन् ।
असत्यमाथि सत्यको जीतको प्रतीकमा रुपमा मनाइने होलीको स्वरूप पछिल्लो समयमा परिवर्तन हुँदै गइरहेको पाइन्छ । सामाजिक, सांस्कृति रुपमा मनाइने होली हिजोआज व्यापारिक पक्षसँग पनि जोडिएको छ ।

अहिले बजारमा छ्याप्छ्याप्ती भारत र चीनबाट आयात गरिएका होली लक्षित विभिन्न सामग्रीहरुको व्यापार भइरहेको देख्न सकिन्छ । तर, कोरोनाका कारण चिनबाट पिचकारी आयात हुन नसकेपछि के बेच्ने भन्ने दोधारमा परेको व्यापारीहरु बताउँछन् ।
काठमाडौंको ईन्द्रचोकमा विगत १५/२० वर्षदेखि व्यापार गर्दै आएका निराजन शाही पिचकारीमा ५० प्रतिशत नाफा हुने भए पनि बेच्ने सामान उपलब्ध नभएको बताउँछन् । ‘कोरोनाले गर्दा दुई वर्ष घाम तापियो’, उनी भन्छन्, ‘यसपटक व्यापार हुन्छ कि भन्ने थियो, सामान नै छैन ।’
पहिले धेरैजसो समान भारतबाट आउँथ्यो । तर, पछिल्लो समय भने चीनबाट आउन थालेको छ । विगत डेढ वर्षदेखि उत्तरी नाकाबाट १० प्रतिशत पनि सामान आयात हुन सकेको छैन । कोरोनालाई कारण देखाउँदै चीनले नाका नखोलेपछि सहज रुपमा सामग्री आयात हुन सकिरहेको छैन ।

गत वर्ष कोरोनाका कारण सरकाले होली खेल्न रोक लगाएपछि रङ फाल्नु परेको व्यापारी सरस्वती शाही बताउँछिन् । यसरी उनले फुटपाथमा चाडवाडअनुसारको व्यापार गर्न थालेको वर्षौं भइसकेको छ । सुरुमा उनका श्रीमान् हरिगोविन्द श्रेष्ठले गर्ने गरेको व्यापार अहिले उनका छोराले गरिरहेका छन् ।
भोटेबहाल, न्युरोड, असन, ईन्द्रचोकतिर फुटपाथमा यसै वर्षदेखि व्यापार गर्दै आएका व्यापारी विभिन्न समयमा हुने फरक–फरक चाडपर्वमा फरक–फरक किसिमका वस्तुको व्यापार गरेर दैनिकी चलाउने गरेको निराजन बताउँछन् ।
’हामीले एउटै सामान बेच्दैनौं । पर्वअनुसारका विभिन्न सामान बेच्छौं’, निराजनले भन्छन्, ‘जनैपूर्णिमाका दिन राखी, माघीमा तरुल÷चाकु, शिवरात्रिमा फूल र होलीमा रङ बेच्छौं ।’

३५ वर्ष देखि फुटपाथमा व्यापार गर्दै आएका अर्का व्यापारी हुन्, जिरे गोविन्द श्रेष्ठ । आफूले यसरी व्यापार सुरू गर्दा एक्लो भएको र अहिले बजारमा निकै प्रतिस्पर्धा भएको उनी बताउँछन् । कोरोनापछि व्यापार हालसम्म लयमा फर्किन नसकेको उनको भनाइ छ । ’कोरोना त गयो तर, सामान आएन’, गोविन्दको गुनासो छ, ‘आएको सामान पनि निकै महँगो छ, कसरी बेच्ने ?‘
चीनबाट आयात गरिएको पिचकारीमा ५० प्रतिशत फाइदा हुन्छ । रङमा १० मात्रै । तर, बजारमा पिचकारी अभाव भएसँगै मूल्य पनि २ गुणाले बढेको व्यापारी विक्रम श्रेष्ठ बताउँछन् । त्यस्तै १० वर्षदेखि व्यापार गर्दै आएका राजु ठकुरी पनि होलीको दिन ५०–६० हजारको रङ बिक्री हुने गरेको बताउँछन् ।
समय समयमा आउने यस्ता चाडपर्वले निम्न वर्गको जीविकोपार्जनका लागि सहयोग त गर्छ नै ।
तर, सबै सामान आयात गर्नुपर्दा व्यापार घाटा पनि बढ्दै गइरहेको छ ।



