पोखरा । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय सहरी विकास नीति आवश्यक रहेको बताएकी छन् । सहरी नीति परिमार्जन र सहरी विकास ऐन गुणस्तरीय जीवनसँग विषय रहेको भन्दै यसका उपयुक्त नीति आवश्यक रहेको बताएकी हुन् ।
सहरी विकास मन्त्रालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले सहरी नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको समेत बताइन् ।
उनले भनिन्, ‘सहरी विकास नीतिमा सबैको अपनत्व होस् भनेर सबैसँग मन्त्रालयले छलफल गरिरहेको छ । नीति परिमार्जन र ऐन बनाउने काम विज्ञहरूलाई जिम्मा दिँदा पनि हुन्थ्यो । तर, यसमा सबैको स्वामित्व हुनुपर्छ भनेर नै यसरी छलफल गर्नुपर्ने आवश्यकता परेको हो । यो गुणस्तरीय जीवनसँग जोडिएको विषय हो । यसमा सबैको स्वामित्व भएर नीति निर्माण भयो भने शहरीकरणमा दीर्घकालीन समस्या समाधान हुन्छ ।’
सहरी विकास नीतिले सहरी प्रणाली समुन्नत बनोस् भनेर नीति परिमार्जन र सहरी विकास ऐन ल्याउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले बताए । उनले विभिन्न प्रदेशमा आयोजित कार्यशालामा प्राप्त सुझावहरू सहरी नीति परिमार्जन र ऐन निर्माणमा समेटिने पनि बताए ।
गण्डकी प्रदेश नीति तथा योजनाका आयोगका सदस्य रघुराज काफ्लेले नेपालमा शहरीकरणको प्रक्रिया तीव्र बन्दै गएको बताए । उनले सरकारले परिमार्जन गर्ने सहरी नीति र ल्याउने ऐन आगामी दिनमा व्यवस्थित सहरीकरणका लागि महत्वपूर्ण हुने बताए ।
उनले भने, ‘नेपालमा सहरीकरणको प्रक्रिया तीव्र रूपमा बढिरहेको छ । आगामी भविष्यमा बन्ने सहरीकरणका लागि सहरी विकास नीति परिमार्जन र सहरी विकास ऐनले व्यवस्थित रूपमा कार्यान्वयन हुन्छ ।’ उनले परिमार्जित सहरी नीति र सहरी विकास ऐनमा टेकेर नमुना सहर निर्माण गर्न सकिने पनि उनले बताए ।
कार्यक्रममा सहरी विज्ञ जिपी गोरखालीले विषयवस्तुमाथि प्रकाश पारेका थिए । उनले सहरी विकास र यसका विविध आयाममाथि स्पष्ट पारे । यस्तै सहरी विकास नीति र सहरी विकास ऐनबारे मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए । उनले युटीलिटी कोरिडोरबारे समेत जानकारी प्रस्तुत गरे ।
कार्यशालामा सहभागी गण्डकी प्रदेशभित्रका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले संघीयतासँगै तीनै तहका सरकारबीच समन्वयको अभाव देखिएको भन्दै यस्ता विषय सहरी नीतिमा ध्यान दिनुपर्ने बताए । उनीहरुले आफूहरूले माग गर्दै आएको सहरी विकास ऐन ल्याउन लागेको प्रतिमन्त्रालयलाई धन्यवाद व्यक्त समेत दिएका थिए ।
उनीहरुले जलवायु परिवर्तनको समस्या पनि नीतिगत रूपमै समाधान गर्ने गरी नीति परिमार्जन र ऐन बनाउन मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यशालामा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका विभिन्न जिल्लाका नगरप्रमुखहरू उपप्रमुखहरू लगायतको उपस्थिति थियो ।
मन्त्रालयले देशभरका विभिन्न स्थानमा विकास निर्माणका काम गर्दा राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमासम्बन्धी कार्यशाला गर्दै आएको छ । मन्त्रालयले हालसम्म धनगढी, सुर्खेत, नेपालगन्ज, बुटवल र पोखरामा कार्यशाला सम्पन्न गरेको छ ।