काठमाडौं । नेपालमा भारतीय मुद्रा (भारु) को सीमा बढाउनुपर्ने व्यवसायीहरूको मागमा अर्थसमितिका सांसदहरू सकारात्मक देखिएका छन् । व्यवसायीले बारम्बार कायम रहेको २५ हजारको सीमालाई बढाएर २ लाख ५० हजारसम्म पुर्याउन गरेकाे मागमा उनीहरू सकारात्मक देखिएका हुन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिमा भएको आगामी बजेटसम्बन्धी छलफल कार्यक्रममा व्यवसायीले भारुको सीमा बढाउन माग गरेका थिए । त्यसमा सबै सांसदहरु पक्षमै देखिएका हुन् ।
बढ्दो आयातले विदेशी मुद्राको सञ्चिति घटिरहेका बेला भारतीय रुपैयाँको २५ हजारको सीमा बढाउनुपर्ने उनीहरुको माग थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतीय मुद्राको सीमा बढाउनुपर्नेमा जोड दिँदै २५ हजारको सिमालाई बढाएर २ लाख ५० हजार कायम गर्नुपर्ने बताए ।
‘हाल कायम रहेको सीमालाई बढाएर २ लाख ५० हजार पुर्याउन आवश्यक छ । २५ हजारभन्दा बढी रकम ल्याउन नपाएकाले नेपालमा भारतीय पर्यटक नै आउन मान्दैनन् । २५ हजार बोकेर आउँदा उनीहरुको एक दिनको खर्च पनि धान्न मुस्किल रहेकाले यस विषयमा सरकारले पहल गर्नुपर्छ’, मल्लले भने ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कर तथा राजस्व समितिका सदस्य सन्दिप अग्रवालले नेपाल भारतीय मुद्रा ५ सय, १ हजार तथा २ हजारका नोट चलनचल्तीमा ल्याउनुपर्ने सुझाव दिए । भारतीय मुद्रा नेपालमा प्रचलनमा ल्याउन भारत सरकार तयार भए पनि नेपाल राष्ट्र बैंकले नमानेको उनले बताए ।
भारतीय मुद्रा र यसको सीमा बढाउने माग नेपाल होटल संघकी अध्यक्ष सिर्जना राणाले पनि राखिन् । उनले २५ हजार भारतीय मुद्राले नेपालको होटलमा बास बस्नसमेत नपुग्ने भन्दै भारतीय पर्यटक नेपालको सट्टा थाइल्यान्ड जान थालेको बताइन् ।
‘२५ हजार भारतीय रुपैयाँले नेपालमा एक दिन पनि पुग्दैन । भारतीय मुद्राको सीमा बढाउने हो भने विदेशी मुद्राको सञ्चितिमाथिको दबाब पनि कम हुने र नेपालको पर्यटनसमेत प्रवर्धन गर्न मद्दत गर्छ’, उनले भनिन् ।
भारतीय मुद्राको सीमा बढाउने उद्योगी व्यवसायीको मागमा समितिका सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले पनि समर्थन जनाएका थिए । भारतीय मुद्राको सीमा बढाउन सरकारलाई समितिले निर्देशन दिनुपर्ने उनले बताए ।
‘भारतीय मुद्राको सीमा बढाउने र मुद्रा चलन चल्तीमा ल्याउने विषय सकारात्मक छ । यसबारे हामीले सरकारलाई आवश्यक निर्देशन दिन सक्छौं’, उनले भने, '२५ हजार भारतीय मुद्रा ल्याउन पाउने ;Lमा अहिलेको अवस्थमा असान्दर्भिक छ ।'