काठमाडौं । दसैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । ‘दसैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आयोजक संस्था इभेन्ट सोलुसन प्रलिले जनाएको छ ।
चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामान खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अत्यन्त रुचाइएको यो मेला वर्षेनि आयोजना हुँदै आएको छ । एक्स्पोमा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीको कारोबार हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफरसमेत रहने आयोजकले जनाएको छ । ‘अफरै अफरको व्यापारिक मेला, शपिङ गर्ने यही हो बेला’ भन्दै सञ्चालन हुने मेलामा तुलनात्मक रुपमा सस्तोमा सामान खरिद गर्न सकिन्छ । मेलामा घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादन, खानाका परिकार तथा उत्पादन, इलेक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी स्टल रहने इभेन्ट सोलुसनका बजार निर्देशक नवीन भट्टले भने ।
स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडा एक्स्पो पनि सञ्चालन हुनेछ । नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको नेपाल यार्न एन्ड टेक्सटायल एक्स्पो २०१९ को व्यवस्थापन पनि इभेन्ट सोलुसनले गर्नेछ ।
‘दसैंको शपिङ गर्न उपभोक्ताहरु बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामुनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं,’ इभेन्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।