काठमाडौं। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आठ महिने (फागुनसम्म) तथ्याङ्कले देशको बाह्य क्षेत्रमा उत्साहजनक तस्बिर प्रस्तुत गरेको छ। विप्रेषण आप्रवाहमा ऐतिहासिक उछाल, विदेशी मुद्रा सञ्चिति नयाँ उचाइमा पुग्नु र चालु खाता बचतमा रहनु — यी सबैले नेपालको बाह्य अर्थतन्त्रको आधार बलियो बन्दै गएको संकेत दिन्छ। यद्यपि, व्यापार घाटामा भइरहेको निरन्तर वृद्धिले भने नीति निर्माताहरूलाई सोचमा पार्ने आधार दिएको छ।
विप्रेषणस्: अर्थतन्त्रको मेरुदण्ड झन् बलियो
आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १,४४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर ९.५ प्रतिशतमात्र थियो, अर्थात् यस वर्षको वृद्धिदर करिब चार गुणाले उच्च रहेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशतमात्र थियो।
२०८२ फागुन महिनाको विप्रेषण आप्रवाह १८८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १५१ अर्ब १९ करोड रुपैयाँको तुलनामा उल्लेखनीय रूपमा बढी हो। विप्रेषणको यो उछालले घरेलु उपभोग, बैंकिङ क्षेत्रको निक्षेप र विदेशी मुद्रा सञ्चिति — तीनैमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको अर्थशास्त्रीहरू बताउँछन्।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २,७३,५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,५१,९८५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,१७,०६८ र २,१७,४०३ रहेको थियो। श्रम स्वीकृति लिनेको संख्या घटे पनि प्रति व्यक्ति पठाइने रकममा वृद्धि भएकाले कुल विप्रेषण उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिएको छ।
वैदेशिक व्यापार: निर्यात उकालो, तर घाटा अझै फराकिलो निर्यात:
आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई रु।१९१ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा, भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा भटमासको तेल, अलैँची, पाम तेल, जुटका सामान, चाउचाउलगायत वस्तुको निर्यात बढेको छ भने जिङ सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा, हस्तकलाका सामानलगायत वस्तुको निर्यात घटेको छ।
आयात:
आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १,२८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायत वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड सिट इन कइल, लसुन, दाल, एमएस बिलेटलगायत वस्तुको आयात घटेको छ।
व्यापार घाटा:
आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १,०९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात १३.८ प्रतिशत रहेको थियो।
सेवा खाता र चालु खाता: बचतमा रहनु सकारात्मक
समीक्षा अवधिमा खुद सेवा आय ३७ अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको छ।सेवा खाताअन्तर्गत भ्रमण आय २.५ प्रतिशतले कमी भई ५५ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ भने भ्रमण व्यय १.७ प्रतिशतले कमी भई १४५ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ। पर्यटन क्षेत्रबाट खुद आम्दानी अझै ऋणात्मक रहनु भनेको नेपाल बाहिर जाने पर्यटकले भित्रिने पर्यटकभन्दा बढी खर्च गर्ने प्रवृत्ति जारी रहेको देखाउँछ।
तथापि, विप्रेषणको बलियो आधारका कारण समीक्षा अवधिमा चालु खाता रु।५५२ अर्ब ८५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष यो बचत १९७ अर्ब ३ करोड रुपैयाँ मात्र थियो — अर्थात् एक वर्षमै चालु खाता बचत झन्डै तीन गुणाले बढेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ।
विदेशी मुद्रा सञ्चितिस् नयाँ उचाइमा
२०८२ असार मसान्तमा २,६७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा ३,४१३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८२ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेका छन्।
विनिमय दर र अन्तर्राष्ट्रिय वस्तुको मूल्य
२०८२ असार मसान्तको तुलनामा २०८२ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७.२ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.२ प्रतिशतले अवमूल्यन भएको थियो। २०८२ फागुन मसान्तमा अमेरिकी डलर एककको खरिद विनिमय दर १४७.६४ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा, २०८१ फागुन मसान्तमा प्रति ब्यारेल अमेरिकी डलर ७०.८२ रहेको कच्चा पेट्रोलियम (क्रुड अयल ब्रेन्ट) को मूल्य २०८२ फागुन मसान्तमा ४५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १०३.२३ कायम भएको छ। सुनको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा २०८१ फागुन मसान्तमा प्रति आउन्स अमेरिकी डलर २,९७४.०५ रहेकोमा २०८२ फागुन मसान्तमा ६९.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५,०४४.६० पुगेको छ।
समग्र विश्लेषण र निष्कर्ष
यस अवधिको बाह्य क्षेत्रको तथ्याङ्कले दुई विपरीत प्रवृत्ति एकसाथ देखाउँछ। सकारात्मक पक्षस् विप्रेषणमा ३७.७ प्रतिशतको ऐतिहासिक वृद्धि, विदेशी मुद्रा सञ्चिति ३,४१३ अर्ब रुपैयाँको नयाँ उचाइमा पुग्नु, चालु खाता र शोधनान्तर दुवै बचतमा रहनु — यी सबैले नेपालको बाह्य क्षेत्रको आधारभूत स्वास्थ्य सुदृढ भएको देखाउँछ।
चिन्ताका पक्षस् कच्चा तेलको मूल्य ४५.८ प्रतिशतले र सुनको मूल्य ६९.६ प्रतिशतले बढ्नु, व्यापार घाटा अझै फराकिलो हुँदै जानु र नेपाली रुपैयाँको ७.२ प्रतिशत अवमूल्यन हुनुले आगामी दिनमा आयात खर्च झन् बढ्ने र मुद्रास्फीतिमा थप दबाब पर्ने जोखिम देखिन्छ। नेपालको बाह्य अर्थतन्त्र अहिले मूलतः वैदेशिक रोजगारमा रहेका नेपालीको पसिनाको भरमा टिकेको छ। उत्पादनमूलक क्षेत्रको विकास बिना यो निर्भरता दीर्घकालीन जोखिम भने बनिरहने अर्थशास्त्रीहरूको विश्लेषण छ।