काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य १८२ रुपैयाँ पुर्याउने तयारी गरेको छ । निगम निरन्तर घाटामा जान थाले पनि स्वचालित मूल्य प्रणाली लागू गरेर परल मूल्यमा बेच्न गृहकार्य भइरहेको हो ।
निगमले महँगोमा किनेर सस्तोमा बेच्दा आर्थिक रुपमा ठूलो नोक्सान भएको निश्कर्ष निकाल्दै पेट्रोलियम पदार्थ परल मूल्यमा बेच्नका लागि गृहकार्य भइरहेको निगमले जनाएको छ । यसो हुँदा पेट्रोलको मूल्य (आजको दिनमा) १८२ रुपैयाँ पुग्ने छ भने डिजेलको १७० रुपैयाँ १७ पैसा नाघ्ने छ। खाना पकाउने ग्यासको मूल्य २५२८ रुपैयाँ ६६ पैसा पुग्ने छ। अहिले पेट्रोलको भाउ १५५, डिजेल १३८ र खाना पकाउने ग्यासको भाउ प्रति सिलिन्टर १५७५ रुपैयाँ छ।
अर्थ मन्त्रालयमा मंगलबार अपरान्न भएको छलफलमा अर्थमन्त्री शर्मा, श्रम मन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव डा. गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत अर्थ मन्त्रालयको टोली उपस्थित थियो।
छलफलमा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने बिषयमा छलफल भएपनि निर्णय भने भएन। केही समय पर्खिएर हेर्ने अनि आवश्यक निर्णय गर्ने सहमति भएको हाे।
अहिले पेट्रोलियम पदार्थको आयात मासिक ३० अर्ब रुपैयाँले हुन थालेको छ। पोहोरकै परिमाणमा पेट्रोलियम आयात गरिएपनि मूल्यका कारण धेरै पैसा गइरहेको छ। यसले एकातिर विदेशी मुद्राको सञ्चिति घटाइरहेको छ भने आन्तरिक रुपमा निगमको घाटा फराकिलो हुँदै गएको छ।
निगमले अहिले घाटा सहेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिरहेको छ। ६ महिना अगाडि १९ अर्ब रुपैयाँ संचित मुनाफा र १४ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोष रहेको निगम अहिले ३५ अर्ब रुपैयाँ घाटामा गइसकेको छ।
निगमले अहिलेसम्म आन्तरिक स्रोतबाट सबै ब्यवस्थापन गर्दै आएकोमा अब ऋण लिनु पर्ने अवस्था सृजना भएको छ। अहिलेको अवस्थामा ऋण लिन सकिने अवस्था छैन भने अर्कोतिर आयातलाई निरुत्साहन नगर्ने हो भने ऋणको मात्रा पनि थपिँदै जाने छ। त्यही भएर पेट्रोलियमको खपत कम गर्नका लागि सरकारले परल मूल्यमा बेच्ने निर्णय गरेको हो।
'हामी छिट्टै सञ्चालक समिति बैठक बसेर निर्णय गर्ने तयारी भएकाे स्राेतकाे दाबी छ ।