काठमाडौं । फागुनमा यो वर्षकै सर्वाधिक रेमिट्यान्स भित्र्याएको अर्थ मन्त्रालयले जनाएको छ ।
माघमा ७१ अर्ब रुपैयाँ भित्रिएको रेमिट्यान्स फागुनमा २० अर्बले बढेर ९१ अर्ब रुपैयाँ भित्रिएको बताइएको छ । मन्त्रालयमा सुझाव प्रस्तुत गर्ने क्रममा राष्ट्र बैंकका अधिकारीहरूले रेमिट्यान्स बढ्न थालेको बताएका हुन् ।
आन्तरिक रेमिट्यान्समा गरिएको नियन्त्रण, नयाँ श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको, विदेश गएकाले रेमिट्यान्स पठाउन थालेको र सरकारले हुन्डी कारोबारीलाई पक्राउ गरेकाले फागुनमा रेमिट्यान्स बढेको बताइएको छ ।
२० अर्बले रेमिट्यान्स बढ्दा भुक्तानी सन्तुलनमा केही राहत हुने बताइएको छ । माघसम्ममा कुल ५४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कोभिड १९ का कारण श्रम गन्तव्यहरू प्रभावित हुँदा रेमिट्यान्समा पनि कमी आएको थियो ।
गत आर्थिक वर्ष कोभिडका १९ को रोकथाम तथा नियन्त्रणात्मक गतिविधिले रेमिट्यान्स बढेको थियो । अर्थतन्त्रका सबै क्षेत्रहरू ठप्प हुँदा हुन्डीबाट आउने रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउँदा बढेको बताइएको छ ।
चालू आर्थिक वर्षमा पनि ७० देखि ८० अर्बको बीचमा रेमिट्यान्स भित्रिए पनि गत वर्ष धेरै आएकाले घटेको जस्तो देखिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाखले बढिरहेको थियो भने पुन:श्रम स्वीकृति लिनेको संख्या २३० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकले रेमिट्यान्सलाई आकर्षित गर्नका लागि मुद्दती निक्षेपमा थप १ प्रतिशत ब्याजदर दिइरहेको छ । मुद्दतीमा १२ प्रतिशतसम्म ब्याजदर पाउने भएपछि विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउन आकर्षित भएको बताइएको छ ।
यसैगरी कोभिड १९ र युक्रेन–रूस युद्धका कारण डलरको भाउ बढिरहेकाले यही मौकामा विदेशमा रहेका नेपालीले रेमिट्यान्स बढी बढाएको हुन सक्ने बताइएको छ ।