काठमाडौं । चोभार सुख्खा बन्दगाह सञ्चालन भएसँगै वस्तुको लागत घट्ने उद्योगीहरु व्यवसायीहरुले बताएका छन् । उपत्यकाकै पहिलो चोभार सुक्खा बन्दरगाह मंगलबारबाट सञ्चालनमा आएसँगै उद्योगीहरुले आयातित वस्तुको लागत घट्ने विश्वास लिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चोभार सुख्खा बन्दरगाह उद्योगी एवं व्यवसायीको क्षेत्रमा कोसे ढुंगा साबित हुने बताएका छन् । उनले भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रिएका कन्टेनर सिधै काठमाडौंमा जाँचपास हुँदा व्यवसायीहरुलाई लागत कम पर्ने विश्वास लिएका छन् । ‘चोभार बन्दरगाह साना तथा मझौला उद्योगको लागि निकै महत्वपूर्ण हुन्छ । तर, फास्ट ट्रयाक र रेलसँग बन्दरगाह नजोडे लागत घट्दैन’ अध्यक्ष गोल्छाले भने ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल लागत नघटे बन्दरगाह सञ्चालनमा आउनुको अर्थ नहुने बताउँछन् । अग्रवाल भन्छन्, ‘वस्तुको लागत घट्नुपर्छ, समयको बचत हुनुपर्छ, नभए काठमाडौंमा बन्दरगाह सञ्चालन हुनुको अर्थ रहदैन ।’
चोभार सुक्खा बन्दगाहबाट आयात मात्र नभइ निर्यातजन्य सामानलाईसमेत जोड दिनुपर्ने नेपाल चम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको भनाइ छ । उनले टर्मिनल र अन्तर्राष्ट्रिय स्तरको ल्याब सञ्चालनको माग गरेका छन् ।
२०७५ माघ ३ गते तत्कालिन प्रधामन्त्री केपी शर्मा ओलिले शिलान्यास गरेको बन्दगाह नेपाल इन्टरमोडल यातायात विकास समितिले गत असारमा निर्माण सम्पन्न गरेको थियो । विश्व बैंकको सहयोग र समितिको गरी कुल १ अर्ब ५४ करोड रुपैयाँ लागतमा चोभारमा सुक्खा बन्दरगाह सम्पन भएको हो ।
पूर्व प्रधानमन्त्री ओलीले शिलान्यास गरेको बन्दरगाहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । प्रधानमन्त्री देउवाले रिवन बाटेर वीरगञ्जबाट आएको कन्टेनरलाई बन्दरगाहमा प्रवेश गराएसँगै औपचारिक रुपमा उपत्यकाको पहिलो बन्दरगाह सञ्चालनमा आएको हो । अब देश विभिन्न ५ नाकाबाट विद्युत्तीय लक लगाएर नेपाल भित्रिएका कन्टेनर जाँचपासको लागि सिधै काठमाडौं आउन सक्ने छन् ।