काठमाडौँ । साताको पहिलो दिन अाइतबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ ।
नेप्से घटेपछि कारोबार रकम पनि सामान्य नै छ । आज कुल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता सेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोबार भयो ।
स्टकका अनुसार कारोबार भएक कुल ११ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ १०.९६, होटल ९.२२, विकास बैंक १५.८२, जलविद्युत् १२.९२, वित्त ०.२९, निर्जीवन बिमा १०२.२९, उत्पादन १२.५९, अन्य ७.१५, लघुवित्त ७.५, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेका छन् ।
स्टकका अनुसार कारोबारका आधारमा आज प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा पुगेको छ । सो बैंकको संस्थापक सेयर पाँच करोड २४ लाख ८० हजार रूपैयाँबराबरको कारोबार भयो । यस्तै एनआइसी एशिया बैंक एक करोड ६१ लाख ८८ हजार, प्रभु बैंक एक करोड २९ लाख ४७ हजार ८५९, नेपाल लाइफ इन्सुरेन्स एक करोड १३ लाख ८७ हजार १३१, कुमारी बैंक ९३ लाख २३ हजार ४५५ र शिवम् सिमेन्ट ८१ लाख १६ हजार ५८८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९० प्रतिशतले कमाउँदा जानकी फाइनान्स ५.२६, राधी विद्युत् कम्पनी ४.४४, सानिमा इक्विटी फण्ड २.९८, गुडविल फाइनान्स २.२१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९४ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ८.४९, युनिभर्सल पावर कम्पनी ८.२३, सिन्धु विकास बैंक ७.४०, नेशनल लाइफ इन्सुरेन्स ६.८१, र युनियन हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशतले गुमाए । रासस