काठमाडौ । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेकाे छ । थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दी कोका–कोला फाऊन्डेसन प्रमुखक कर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तीन वर्ष भयो ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफा अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागी छन् ।
चैत २२ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनका लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ। प्रतिकूल मौसम र हाई अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ।
कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टका लागि पेय पदार्थहरु पनिउपलब्ध गराएको छ । कोका–कोला फाउन्डेसनकाअध्यक्ष साडिया माड्सब्जर्गले भने, “हिमालहरु सफा गर्ने र यसै कामका लागि समान विचारधारा भएका साझेदारहरुलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ।
नेपालका गौरव यी हिमालहरुको पवित्रता जोगाइ राख्ने नेपाली सेनाको यो साहसिक काममा तेस्राे वर्ष पनि हामी जोडिन पाउँदा खुसी छौं। कोका–कोला फाउन्डेसन यस्ता सामुदायिक रि–साइक्लिङ परियोजनाहरुमा सहयोग गर्न सदैव प्रतिबद्ध छ ।
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाइ अभियानमा १० हजार ५ सय ८६ किलो फोहोर सङ्कलन भएको थियो। सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७ हजार ६सय ७१ किलो फोहोर निकालिएको थियो।